काठमाडौं – काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुका नबिन पौडेल, राहुल वेल्वासे र रविन वेल्वासे रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी र अभौतिक मुद्राको कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले वानएक्स वेट एप्लिकेसन मार्फत सट्टेबाजी गरी तथा गराई २ लाख ६ हजारभन्दा बढीको कारोबार गरेको देखिएको छ। साथै, उनीहरूले यूएसडीटी लगायतका क्रिप्टोकरेन्सी मार्फत ७९ हजार ६८.६५ यूएसडीटी अर्थात् नेपाली १ करोड २० लाख ५१ हजार ८८१ बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनीहरूको साथबाट १ हजार ५०१. ३२ यूएसडीटी अर्थात् नेपाली २ लाख २८ हजार ८३५ बराबरको मौज्दातसमेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन पनि बरामद गरेको छ। उनीहरुविरुद्ध सट्टेबाजी गर्न, गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया