इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, रोकिएको प्रवेश परिक्षा २२ असोजदेखि  

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, रोकिएको प्रवेश परिक्षा २२ असोजदेखि  

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने र आगामी २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ । 

बी.ईरबी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । अब विद्यार्थीहरुले यस वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउनेछन् ।
त्यसका लागि प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७, १८ र १९ गते पनि तोकिएको छ । यसअघि फारम भरेकाहरुले भने फेरि फारम भर्नु नपर्ने  सुचनामा उल्लेख गरेको छ । 
 

संस्थानले पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपैयाँ रहेको अध्ययन शुल्क बढाएर ७ लाख ७५ हजार कायम गर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन भएको थियो । विद्यार्थीको आन्दोलनपछि इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले बढेको शुल्क फिर्ता लिई शुल्क पुनरावलोकनका लागि पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. हरिराम पराजुलीको संयोकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले भदौ २६ गते नै स्नातक तहको शुल्क ५ लाख ५४ हजार बनाउन लगायतको तीन बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो ।

पुरानै शुल्कमा विद्यार्थी पढाउन नसक्ने भन्दै पुल्चोक, थापाथली, पूर्वाञ्चल र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखहरुले विज्ञप्ति निकालेका थिए । भदौमा तोकिएको प्रवेश परीक्षा शुल्क विवादको कारण स्थगित भएको थियो । शुल्क विवादपछि स्थगित भएको परिक्षा (आईओई) ले पुनः सञ्चालनमा ल्याउन लागेको हो ।