सांसद लिमा अधिकारीको माग: ‘ग्यासको लाइन होइन, इन्डक्सन चुलो बाँडियोस्’


काठमाडौं – सांसद लिमा अधिकारीले सोमबार संसद्‌मा बोल्दै ग्यास अभाव र नागरिकले भोगेको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। आज घर-घरमा साँझ-बिहानको छाक टार्न गाह्रो भएको उनले बताइन्। सर्वसाधारण खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरिन्। ‘आज घर-घरमा भान्छामा साँझ-बिहानको छाक टार्न धौ-धौ परेको छ। सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्,’ सांसद अधिकारीले संसद्मा भनिन्,

‘आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनु पर्ने हो? एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। योभन्दा ठुलो विडम्बना र सरकारको गैर जिम्मेवारीपन अरू के हुन सक्छ ?’

ग्यासको सास्तीबाट नागरिकलाई साँच्चिकै राहत दिने हो भने सरकारले ग्यास सिलिन्डरको लाइन होइन, तत्काल इन्डक्सन चुलो बाँड्ने योजना ल्याउनुपर्ने माग उनले गरिन्। ग्यासको आपूर्तिमा पटक-पटक समस्या आइरहँदा विद्युत् खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित बनाइरहेका त छैनन् भन्ने प्रश्न गर्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन्। विद्युतीय चुलोको खपतलाई सुलभ बनाउन र नागरिकको भान्सा सहज बनाउने काममा सरकार तत्काल लाग्नुपर्ने उनले उल्लेख गरिन्।

‘स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’ हाम्रो साझा प्रतिबद्धता हो भन्दै नागरिकलाई गरिएको वाचा उनीहरूले अहिले सम्झिरहेका छन्। जनताप्रतिको यो प्रतिबद्धता सरकारले नभुल्न आग्रह गरेकी छन्।