डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा प्रवेश


काठमाडौं । ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो।

भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पुर्याउने यो अर्को कदम समेत हो। यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार प्लेटफर्म सिर्जना गरेको छ।

लञ्च लाइनअपमा ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, र ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर चलचित्रहरूसँगै जिओहटस्टार ओरिजिनलहरू जस्तै ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसियल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन्। यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडाक्म’ जस्ता क्षेत्रीय चलचित्रहरू र ‘बिग बोस’, ‘कफी विथ करण’, ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले दैनिक हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउँछन्।

दर्शकहरूले डिगो को मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ। मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ रहेको छ। त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २,६९९ रुपैयाँ मा उपलब्ध छ।

जिओहटस्टारको लाइब्रेरीले डिगो को नेपाली चलचित्र र शोहरूको संग्रहलाई थप बलियो बनाएको छ। स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगो मा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थपिनेछ। यसरी भारतीय तथा नेपाली मनोरञ्जन र विश्वव्यापी खेलकुदहरू कुनै पनि अतिरिक्त शुल्क बिना एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध भएका छन्।

जिओहटस्टारको नेपाल प्रवेशको बारेमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भने, “जिओहटस्टारको अन्तर्राष्ट्रिय विस्तारले हामीले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको छ। पुस्ताौंदेखի हाम्रा चलचित्र, टेलिभिजन शो र कलाकारहरूलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्वपूर्ण हिस्सा हो।

डिगो सँगको सहकार्यले हामीले जिओहटस्टारको मनोरञ्जनलाई स्थानीय प्लेटफर्मको सहजतासँग जोड्दै दर्शकहरूलाई अझ फराकिलो विकल्प दिन सक्षम भएका छौं। हामी यस विद्यमान सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालका घरपरिवारमा जिओहटस्टारलाई दैनिक मनोरञ्जनको अभिन्न अंग बनाउने ठूलो सम्भावना देख्छौं।’