२० जना जुवाडे पक्राउ, ६ लाख बरामद 


काठमाडौं – देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २० जना  पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका– १८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका – २ सिद्धिपुर बस्ने ४० वर्षीय विश्वास थापा मगर समेत ५ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । झापाको अर्जुनधारा नगरपालिका – ५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम समेत ६ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका – १० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको  अवस्थामा धन बहादुर समेत ९ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।