२ वटा हजारको नोट नक्कली दिएको भन्दै नेपाल बैंकविरुद्ध प्रहरीमा उजुरी


काठामाडौं – नेपाल बैंकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा उजुरी परेको छ। बैंकले २ वटा हजारको नोट नक्कली दिएको भन्दै बैंकविरुद्ध प्रहरीमा उजुरी परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले बैंकविरुद्ध गुनासो आएको पृष्टि गरेका हुन्। उनले यस विषयमा बैंकले जारी गरेको वा व्यक्तिले बाहिर फेला पारेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए।

पश्चिम नवलपरासीको पाल्हिनन्दन-३ स्थित बेलासपुरमा रहेको नेपाल बैंकको शाखाले २ वटा एक हजार दरका नोट नक्कली दिएको भन्दै उजुरी परेको हो। बैंकले गत शुक्रबार सेवाग्राहीले १२ हजार रुपैयाँ रकम झिक्दा सयको १० हजार र एकरएक हजारका दुईवटा नोट बैंकले उपलब्ध गराएको जनाएको छ।

बैंकका उक्त शाखाका कर्मचारीका अनुसार शुक्रबार बैंकबाट पैसा निकालेपछि ती सेवाग्राहीले बैंकलाई सोमबार मात्रै नक्कली नोट रहेको जानकारी गराएका थिए। जसकारण पनि सो नोट बैंकले नै निष्काशन गरेको हो भन्न नसकिने अवस्था रहेको उनले बताए। दुईवटा मात्रै नोट दिएका कारण बैंकले यस्तो गर्न नसक्ने उनको दावी छ।