ह्याक भए एकै क्लिकमा खाता फ्रिजः ‘डिजिटल फ्रड’ रोक्न राष्ट्र बैंकले ल्याउँदैछ नयाँ प्रणाली


काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल फ्रड रोक्न एकाउन्ट स्ट्याटिस्टिक्स सिस्टम सञ्चालनमा ल्याउने भएको छ। डिजिटल माध्यमबाट हुने वित्तीय अपराध नियन्त्रण तथा शङ्कास्पद कारोबार पहिचान गर्ने उद्देश्यले केन्द्रीय बैंकले यो प्रणाली विकास गर्न लागेको हो। पछिल्लो समय मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल वालेट तथा अन्य विद्युतीय माध्यमबाट हुने कारोबार बढेसँगै डिजिटल ठगीका घटनाहरू पनि रूपमा बढिरहेका छन्।

प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/८३ को जेठसम्ममा अनलाइन बैंकिङ्गको प्रयोग गरेर मात्रै २ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको ठगी भएको छ। ठगीमा संलग्न व्यक्तिहरूले बैंक खाताको पहुँच लिएर रकम स्थानान्तरण गर्ने, ओटिपि तथा अन्य संवेदनशील विवरण दुरुपयोग गर्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले यसतर्फ चासो देखाएको हो। प्रहरीका अध्ययन–अनुसन्धानले पनि डिजिटल ठगीमा बैंक खाताको दुरुपयोग बढी हुने गरेको देखाएका छन्।

यस्ता घटना रोक्न र डिजिटल कारोबारको निगरानीलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले यो अवधारणा अघि सारेको हो। ‘एकाउन्ट स्ट्याटिस्टिक्स सिस्टम’ मार्फत बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूको कारोबारसम्बन्धी तथ्यांक र गतिविधिलाई मसिनो गरी विश्लेषण गर्न सकिने राष्ट्र बैंकको अपेक्षा छ। असामान्य वा शंकास्पद गतिविधि देखिएमा छिटो पहिचान गरी तत्काल आवश्यक कदम चाल्न सकिने गरी यो प्रणाली विकास गरिँदै छ। हाल ठगीका क्रममा बैंक खाता प्रयोग भएपछि विभिन्न अनुसन्धानकारी निकायहरूले खाता बन्द गर्न राष्ट्र बैंकलाई पत्राचार गर्दै आएका छन्। अहिलेको प्रक्रिया अनुसार कागजात बुझाउनुपर्ने बाध्यता छ भने ती निकायबाट आएका पत्रलाई केन्द्रीय बैंकले एउटा पोर्टलमा राख्ने र त्यसैका आधारमा बैंकहरूले खाता रोक्का गर्ने गरेका छन्।

तर, यो प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले राष्ट्र बैंकले नयाँ सिस्टम नै बनाएर पत्राचार गर्ने निकायलाई नै सीधा पहुँच दिन लागेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीका अनुसार खाता रोक्का र फुकुवाको प्रक्रियालाई सहजीकरण गर्न सबै अनुसन्धानकारी निकायले एउटै सिस्टम प्रयोग गर्ने व्यवस्था मिलाउन लागिएको हो। सुरुवाती चरणमा यो सिस्टममा बैंक तथा वित्तीय संस्था, छानबिन गर्ने निकाय र राष्ट्र बैंकको मात्र पहुँच हुनेछ। पछि भने यसलाई भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूमा पनि लागू गर्न सकिने अधिकारीले बताए।

कुनै ग्राहकको बैंक खाता ह्याक भएको अवस्थामा सम्बन्धित निकायले एक क्लिक मै खातालाई अस्थायी रूपमा रोक्का (फ्रिज) गर्न सक्ने व्यवस्था प्रणालीमा समावेश गरिँदै छ। हाल डिजिटल ठगी भएपछि पीडितले बैंक वा सम्बन्धित निकायमा जानकारी गराएर प्रक्रिया अघि बढाउँदासम्म रकम अन्य खातामा सरिसक्ने र नियन्त्रण गर्न कठिन हुने गरेको छ। नयाँ प्रणाली कार्यान्वयनमा आएपछि शङ्कास्पद कारोबार तथा ह्याक भएका खातालाई तत्काल होल्ड गर्न सकिने राष्ट्र बैंकको विश्वास छ। राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउन बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै प्रणाली विकास गर्ने भएको हो। प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आएपछि डिजिटल ठगीबाट हुने वित्तीय क्षति न्यूनीकरण गर्न तथा शङ्कास्पद खाताको पहिचान र निगरानीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साइबर विज्ञ डा. श्रीकृष्ण भट्टराई राष्ट्र बैंकले एकाउन्ट स्ट्याटिस्टिक्स सिस्टम सञ्चालनमा ल्याउनुअघि ग्राहकको व्यक्तिगत विवरणको गोपनीयतामा विशेष ध्यान दिनुपर्ने बताउँछन् । उनले बैंकिङ्ग प्रणालीमा साइबर सुरक्षाको प्रश्न निकै गम्भीर रहेको बताउँदै विभिन्न भेन्डरहरूबाट खरिद गरिएका सफ्टवेयरमा हुने त्रुटि, कर्मचारीहरूको उचित कार्य कौशलको अभाव र कतिपय सन्दर्भमा ग्राहकहरूको आफ्नै कमजोरीका कारण अनधिकृत कारोबारहरू भइरहेको बताए। यस्ता समस्याले गर्दा खाताबाट पैसा हराउने, ह्याकिङ हुने र चोरी हुने जस्ता घटनाहरू बढेको उनको भनाई छ।

डा. भट्टराईले प्रहरीलाई बैंकको प्रणालीमा पहुँच दिँदा खातावालाको आर्थिक गोपनीयता भंग हुने जोखिम रहने भएकाले प्रहरीले अनुरोध मात्रै गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए। ‘प्रहरीको शंकाकै भरमा कसैको खाता रोक्का गर्न बैंकलाई आग्रह गर्दा निर्दोष व्यक्तिले आफ्नो सम्पत्तिमाथिको पहुँच गुमाउन सक्छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘यसलाई राष्ट्र बैंकले ध्यानमा राखेर नयाँ प्रणाली कार्यान्वयनमा लैजानुपर्छ।’डिजिटल कारोबारको विस्तारसँगै साइबर सुरक्षा र वित्तीय अपराध नियन्त्रण अहिले बैंकिङ्ग क्षेत्रको प्रमुख चुनौती बनेको छ। यस्तो अवस्थामा खाताको गतिविधिको तथ्याङ्क विश्लेषण गर्ने तथा जोखिम देखिएमा तत्काल खाता रोक्का गर्न सकिने प्रणालीलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

एकाउन्ट स्ट्याटिस्टिक्स सिस्टमले कसरी काम गर्छ ?
जब प्रहरीमा कसैले बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गरेर ठगी भएको उजुरी पर्छ। तब प्रहरीले पहिलो चरणको अनुसन्धान गर्छ। पहिलो चरणको अनुसन्धानमा पनि बैंक खाता प्रयोग हुने गरेको पाइएमा प्रहरीले सो व्यक्तिको बैंक खाता र विवरण नाम, नागरिकता नम्बर लगायत विवरणसहित खाता रोक्का गर्न अनुरोध गर्नेछ। नेपाल राष्ट्र बैंकले यस्तो अनुरोध प्राप्त गरेपछि सम्बन्धित बैंकहरूलाई उक्त खाता रोक्का गर्न निर्देशन दिने गरेको छ। तर, अब यस प्रणाली सञ्चालनमा आएपछि अनुसन्धानको प्रयोजनका लागि प्रहरीले सिधै बैंकहरूलाई नै खाता रोक्का गर्न भन्न सक्छन्। पहिले ‘म्यानुअल’ रूपमा हुने यो प्रक्रियालाई अहिले स्वतः हुने बनाइएको हो। यस पोर्टलमा लगइन गरेर प्रहरी वा सम्बन्धित निकायले अनुरोध पठाउँछन् र बैंकहरूले सोही सिस्टमबाट सूचना प्राप्त गरी आफ्नो कोर बैंकिङ्ग सिस्टममा खाता रोक्का गर्छन्।

कुनै पनि बैंक खाता रोक्का गर्ने प्राविधिक अधिकार सम्बन्धित बैंकलाई मात्र हुन्छ। राष्ट्र बैंकको व्यावसायिक बैंकहरूको सिस्टममा सिधै पहुँच हुँदैन, उसले केवल सूचना वा निर्देशन पठाउने काम गर्छ। कुनै व्यक्तिले आफ्नो सुरक्षाको लागि (जस्तै कार्ड वा मोबाइल हराएमा) आफ्नै खाता रोक्का गर्न चाहेमा उसले मोबाइल बैंकिङ्ग वा बैंकमा सम्पर्क गरेर सिधै रोक्का गर्न सक्छ। यसका लागि प्रहरी वा राष्ट्र बैंकको प्रक्रिया आवश्यक पर्दैन। मुद्दा किनारा लागेपछि वा अनुसन्धान सकिएपछि जुन प्रक्रियाबाट खाता रोक्का भएको हो। सोही प्रक्रिया र सिस्टममार्फत खाता फुकुवा गर्न सकिने गरी राष्ट्र बैंकले प्रणालीको विकास गरिरहेको छ।