ब्याज आम्दानीमा संकुचन आउँदा पनि बढ्यो बैंकहरूको नाफा, व्यवसाय ग्रोथमा रसुवा बाढीको असर


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा सुधार आएको छ । बैंकहरूको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले असोज मसान्तसम्ममा १९ अर्ब बढी नाफा कमाएका हुन् । जुन गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा ६ अर्ब बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब नाफा आर्जन गरेका थिए ।

असोजसम्ममा १७ बैंकको नाफामा सुधार आउँदा ३ बैंकको नाफामा गिरावट देखिएको छ । बैंकहरूले रिकभरीमा जोड दिँदा बैंकको नाफामा सुधार देखिएको हो । यता, बैंकहरूको लागत घट्दै जाँदा  र बैंकहरूले खराब कर्जाका लागि छुट्याउनुपर्ने रकम कम हुँदा पनि नाफामा सुधार देखिएको छ ।

कुन बैंकको नाफा कति ? 

सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल रहेको छ । बैंकले २ अर्ब ५५ करोड खुद नाफा कमाएको हो । दोस्रोमा ग्लोबल आईएमई बैंकले २ अर्ब ३१ करोड र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड नाफा कमाएको छ ।

साथै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड नाफा कमाएका छन् । यस्तै, पहिलो ३ महिनामा सिद्धार्थ बैंकले ८५ करोड, नेपाल बैंकले ८३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड, हिमालयन बैंकले ६५ करोड , लक्ष्मी सनराइज बैंकले ६५ करोड, प्रभु बैंकले ६० करोड, नेपाल एसबीआई बैंकले ५५ करोड, माछापुच्छ्रे बैंकले ५५ करोड, एनआइसी एशिया बैंकले १२ करोड, कृषि विकास बैंकले १० करोड नाफा आर्जन गरेको छ । साथै, सिटिजन्स बैंकले गत वर्षको पहिलो त्रैमासमा २२ करोड घाटामा रहेकोमा यही असोजसम्म आइपुग्दा १० करोड खुद नाफा कमाएको छ ।

१०  बैंकको ब्याज आम्दानीमा गिरावट 

चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा बैंकहरूले ५१ अर्ब ६६ करोड बढी खुद ब्याज आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्ष आर्थिक वर्षको पहिलो त्रैमासमाको सोही अवधिको तुलनामा १  अर्ब बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी गरेका थिए । २० वटा वाणिज्य बैंकहरूले ५० अर्ब ७ करोड खुद ब्याज आम्दानी आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १० वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी बढेको छ भने १० बैंकको ब्याज आम्दानी गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । यता, कतिपय बैंकको ब्याज आम्दानी घट्दा पनि नाफा बढेको छ । बैंकहरूको सञ्चालन लागत घट्दा पनि नाफा बढ्न गएको हो । 

असोजसम्ममा सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा नबिल बैंक रहेको छ । बैंकले असोज मसान्तसम्ममा ४ अर्ब ७३ करोड खुद ब्याज आम्दानी गरेको हो । गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ९० करोड ब्याज आम्दानी गरेको थियो । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब १९ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १ करोड खुद ब्याज आम्दानी गरेको छ । 

यता, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बैंकहरूको सञ्चालन लागत र अन्य खर्च घट्दा पनि नाफा बढ्ने बताउँछन् । उनकाअनुसार बैंकहरूको नाफामा ब्याज आम्दानीका साथै बैंकको सञ्चालन लागत, कर्मचारी खर्च र गैह्र ब्याज आम्दानीले समेत प्रभाव पार्छ । 

व्यवसाय ग्रोथमा रसुवा बाढीको असर 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको व्यवसाय विस्तारमा प्राकृतिक विपत्तिको असर देखिएको बताए । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले व्यावसायिक गतिविधि प्रभावित बन्दा बैंकहरूको अपेक्षित व्यवसाय विस्तार हुन नसकेको सीईओ खनाल बताउँछन् ।

उनका अनुसार दसैंजस्तो ठूलो चाडपर्वका समयमा आर्थिक कारोबार बढ्ने अपेक्षा गरिए पनि बाढी तथा पहिरोका कारण अधिकांश व्यापारिक नाका बन्द हुँदा आयात तथा व्यापारिक गतिविधि प्रभावित बन्दा सोचेअनुरूप कारोबार हुन सकेन । ‘रसुवा बाढीका कारण बैंकको बिजनेस ग्रोथमा असर परेको छ । सबै नाका बन्द हुँदा सोचेअनुसारको कारोबार हुन सकेन,’ उनले भने । जसले बैंक तथा वित्तीय संस्थामा संकलन भएको लगानीयोग्य पुँजीसमेत परिचालन हुन सकेन । बैंकिङ्ग प्रणालीमा तरलता बढ्ने क्रम नरोकिए पनि लोन रिकभरीमा सुधार आउँदा बैंकहरूको नाफामा सकारात्मक प्रभाव पर्न गएको हो ।