शेयर बजारको विरोधाभास: वर्षौँसम्म लाभांश नदिने कम्पनीमा किन ओइरिन्छन् लगानीकर्ता ?


काठमाडौं – वित्तीय बजारको सामान्य सिद्धान्त भन्छ, जुन कम्पनीले निरन्तर नाफा कमाउँछ र आफ्ना शेयरधनीलाई राम्रो प्रतिफल वा लाभांश दिन्छ, त्यसैको शेयर मूल्य बजारमा उच्च हुनुपर्छ। तर, नेपालको शेयर बजार (नेप्से) मा यो सर्वमान्य नियम प्रायः विपरीत देखिन्छ। वर्षौँसम्म लगानीकर्तालाई रित्तो हात बनाउने, वित्तीय विवरण घाटामा देखाउने र व्यावसायिक विस्तार गर्न नसकेका कम्पनीको शेयर किन्न बजारमा हानथाप देखिन्छ। प्रतिफलको नाममा शून्य हात पार्ने यस्ता कम्पनीहरूतर्फ लगानीकर्ता किन आकर्षित हुन्छन् ?

पुँजीगत लाभको अपेक्षा, बजारको अपारदर्शी खेल र सर्वसाधारणमा फैलिएको भ्रमले यस्तो विरोधाभास सिर्जना भइरहेको जानकारहरू बताउँछन्। लगानीकर्ताहरू लाभांशभन्दा पनि भविष्यमा मूल्य बढेर छोटो समयमा धेरै नाफा कमाउन सकिने आशामा शेयर खरिद गर्ने प्रवृत्ति बढेको छ। सर्वसाधारणमा कम मूल्यका शेयरमा थोरै पैसाले धेरै कित्ता खरिद गर्न पाइने लोभ पनि उत्तिकै छ। कम्पनीको सम्भावित पुँजी वृद्धि योजना हकप्रद वा मर्जर र मुख्य गरी बजारका ठुला प्लेयरहरूले गर्ने म्यानिपुलेसनका कारण साना लगानीकर्ताहरू यस्ता कम्पनीमा झुम्मिन पुग्छन्।

नेप्सेमा सूचीकृत दर्जनौँ कम्पनीहरू यस्ता छन्, जसको इतिहास पल्टाउँदा लगानीकर्ताले सम्झन लायक प्रतिफल पाएका छैनन्। यसको एउटा उदाहरण हो, कर्पोरेट डेभलपमेन्ट बैंक। कम चुक्ता पुँजी भएको यो प्रादेशिक स्तरको विकास बैंकको शाखा सञ्जाल एकदमै सीमित छ। बैंकले आफ्नो इतिहासमा आर्थिक वर्ष ०७८/७९ मा दिएको ५.२६ प्रतिशत लाभांशबाहेक शेयरधनीलाई कहिल्यै केही दिन सकेको छैन। तर पनि यसको शेयर मूल्य बजारमा पटक फन्डामेन्टलभन्दा निकै माथि पुगेर प्रति कित्ता एक हजार रुपैयाँ नाघेको छ।

विकास बैंक समूहमै नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी, कर्णाली र सिन्धु विकास बैंकजस्ता संस्थाहरूको अवस्था पनि फरक छैन। सञ्चित नोक्सानी, आन्तरिक घोटाला, व्यवस्थापकीय कमजोरी र उच्च खराब कर्जा भएकाले यी बैंकहरूले वर्षौँदेखि लाभांश दिन सकेका छैनन्।

नेप्सेको सबैभन्दा बढी उतारचढाव हुने फाइनान्स कम्पनी समूह हो। सेन्ट्रल फाइनान्स, मल्टिपर्पस फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग जस्ता कम्पनीहरूको वित्तीय सूचक निराशाजनक भए पनि बजार उकासिँदा यिनीहरूकै शेयर मूल्य तीव्र गतिमा बढेर ७०० देखि १२ सय रुपैयाँसम्म पुग्ने गर्छ। यस्तै, चन्द्रागिरि हिल्स जस्ता पर्यटन कम्पनी जसले स्थापनाकालदेखि लाभांश दिएका छैनन्। तिनीहरूको शेयर मूल्य ७८५ देखि ११०० को रेन्जमा किनबेच भइरहन्छ। युनिक नेपाल, उपकार वा आत्मनिर्भर लघुवित्त जस्ता साना लघुवित्तहरूको लाभांश क्षमता शून्य वा सामान्य भए पनि शेयर संख्या बजारमा थोरै भएका कारण मूल्य १५०० देखि ५००० रुपैयाँसम्म पुग्ने गर्छ।

नयाँ जीवन बीमा कम्पनीहरू हिमालयन लाइफ, सूर्य ज्योति, प्रभु महालक्ष्मी जस्ताले मर्जरको खर्च, एक्चुअरी भ्यालुएसनको ढिलाइ र पुरानो नोक्सानीका कारण लाभांश दिन असमर्थ भए पनि दीर्घकालीन आशाका भरमा शेयरधनीहरू मूल्य बढ्ने अपेक्षामा टिकिरहेका छन्।

कमजोर कम्पनीको बलियो मूल्य,‘दाम र नाम’को खेल
वित्तीय रूपमा जर्जर कम्पनीको शेयर मूल्य आकासिनुमा बजारभित्रका केही खास प्राविधिक तथा मनोविज्ञान जोडिएका हुने जानकारहरू बताउँछन्। कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पुँजी जम्मा ५२ करोड रुपैयाँ मात्र छ। बजारमा सर्वसाधारणसँग भएको शेयर एकदमै कम हुन्छ। थोरै पुँजी र थोरै कित्ता शेयर भएका कम्पनीलाई बजारका ठूला सट्टेबाजले सजिलै आफ्नो नियन्त्रणमा लिन सक्छन्। थोरै पैसाले सबै शेयर किनेर आपूर्ति ठप्प पारिन्छ र कृत्रिम माग सिर्जना गरी मूल्य बढाइन्छ। यसमा केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले लगानीकर्ता दीपेन्द्र अग्रवालमाथि अनुसन्धान नै गरिरहेको छ।

लाभांश दिन नसक्ने कम्पनीहरूले राष्ट्र बैंक वा नियामकको पुँजीगत मापदण्ड पुर्याउन हकप्रद शेयर जारी गर्ने वा कुनै ठूलो वाणिज्य बैंकसँग मर्जर तथा एक्विजिसनमा जाने रणनीति बनाउँछन्। बजारमा यही हल्ला फैलाइन्छ, र साधारण लगानीकर्ता ‘हकप्रद पाएर कमाइन्छ’ भन्ने लोभमा महँगो मूल्य तिर्न तयार हुन्छन्। चन्द्रागिरी जस्ता कम्पनीको हकमा भने उनीहरूसँग रहेको ठूलो अचल सम्पत्ति ९जग्गा तथा रिसोर्ट० र भविष्यमा व्यवसाय विस्तार भई नाफा कमाउने दीर्घकालीन आशाले लगानीकर्तालाई आकर्षित गर्छ। शेयर खरिद गर्नुअघि कम्पनीको लाभांश इतिहास, खराब कर्जाको स्थिति, प्रतिशेयर आम्दानी (इपिएस) र वास्तविक वित्तीय स्वास्थ्य जाँच्नु नै जोखिमबाट बच्ने एकमात्र सुरक्षित उपाय रहेको विज्ञहरू बताउँछन्।

बजार म्यानिपुलेसनको पर्दाफास
कमजोर कम्पनीमा कसरी कृत्रिम रूपमा सर्वसाधारण लगानीकर्तालाई फसाइन्छ भन्ने उदाहरण शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालमाथि भएका अनुसन्धान हो। नेपाल धितोपत्र बोर्ड र सीआइबीले गरेको छानबिन अनुसार अग्रवालले गैरकानुनी रूपमा शेयरको मूल्य बढाउने, कर्नरिङ गर्ने र ठगी गर्ने कार्यमा साना पुँजी भएका कम्पनीहरूलाई नै हतियार बनाएका थिए।

अनुसन्धान प्रतिवेदनका अनुसार उनले आफ्ना नातागोता र नजिकका १५ भन्दा बढी व्यक्तिको ट्रेडिङ खाता आफैँ चलाएर बजारमा कृत्रिम माग र आपूर्ति सिर्जना गरेका थिए। बजार बन्द हुने अन्तिम मिनेटमा आफैँले एउटा खाताबाट शेयर बिक्रीमा राख्ने र आफ्नै अर्को नियन्त्रित खाता वा पारिवारिक कम्पनीबाट किन्ने गरेका थिए। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा ज्योति अग्रवालको खाताबाट २० हजार कित्ता बिक्रीमा राखेर आफैँले किन्दै एकै दिन मूल्य ११६ अंकसम्म बढाएको प्रमाण भेटिएको थियो। वास्तविक स्वामित्व परिवर्तन नभए पनि बजारमा माग बढेको भ्रम पारिन्थ्यो।

पहिले सुटुक्क सस्तोमा शेयर जम्मा गर्ने, अनि फेसबुक, क्लबहाउस वा भिडियोमार्फत ुयसको मूल्य सर्किट लाग्दैछु वा ‘हकप्रद आउँदैछ’ भनेर झुटो हल्ला फैलाउँदै साधारण लगानीकर्तालाई किन्न उक्साउने गरेको पनि अनुसन्धानमा खुलेको थियो। अनि सोझा लगानीकर्ता छिरेपछि आफू महँगोमा शेयर बेचेर उम्किने गरेको पाइएको थियो। जोशी हाइड्रोपावरमा यसै गरी ४९ लाख १९ हजार रुपैयाँ गैरकानुनी नाफा कमाएको छानबिनमा खुलेको थियो। नेपाल फाइनान्स, सिन्धु विकास बैंक, जानकी फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकजस्ता लो क्याप स्टकहरूमा थोरै पैसाले मूल्य आफू अनुकूल घुमाउन सजिलो हुने भएकाले यिनैलाई तारो बनाइएको थियो। उनीमाथि शेयर दिने बहानामा विभिन्न व्यक्तिहरूबाट ६.४ करोड रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको र बैंकिङ्ग कसुरको मुद्दासमेत चलाइएको थियो।