अविरल वर्षापछि बाढी-पहिरोमा ३१ जनाको मृत्यु, १२ जना बेपत्ता

दर्जनौँ सडकखण्ड अवरुद्ध


काडमाडौं – अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रुकुम पश्चिममा १ जना रहेका छन् ।  

बाढी, पहिरो लगायतका विपद्मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको छ । साथै विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् । 

वर्षा कम भएसँगै केही स्थानमा सडक एकतर्फी सुचारु भइसकेको छ भने अन्य धेरै स्थानमा सडक अझै पनि पूर्ण रूपमा बन्द रहेका छन् ।
बाढी पहिरोका कारण कान्थिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (बेनीघाट खण्ड–धादिङ र घाँसीकुवा सडकखण्ड–तनहुँ), पृथ्वी लोकमार्ग (धादिङ),  रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग, हेटौंडा–भैंसे–भीमफेदी फाखेल–काठमाडौं सडक (महालक्ष्मी खोला नजिक), नारायणगढ–मुग्लिङ सडकखण्ड(चितवन), मध्यपहाडी लोकमार्ग (बागलुङ, लमजुङ), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व, गुल्मी), चामे–बेसीशहर सडकखण्ड (मनाङ, लमजुङ), बेनी–जोमसोम सडकखण्ड(म्याग्दी), बेनीदरबाङ सडकखण्ड (म्याग्दी), जोमसोम कोरोला सडकखण्ड (मुस्ताङ), मालढुंगा बेनी सडकखण्ड (पर्वत), घोराही थवाङ रुकुम शहिदमार्ग (रोल्पा), मदन भण्डारी राजमार्ग (रोल्पा), रूद्रबिनि वामीटक्सार सडकखण्ड (गुल्मी), तुलसी घोराही सडकखण्ड (दाङ), गाईघाट वालिङ सडकखण्ड(पाल्पा), सिदार्थ राजमार्ग (पाल्पा), ढोरपाटन सडकखण्ड (अर्घाखाँची), कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म गम्गढी सडकखण्ड (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) लगायतका राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरोध भएका छन् ।     

यसैगरी पृथ्वी राजमार्ग (कृष्णभीर खण्ड), मध्यपहाडी लोकमार्ग (पर्वत तामादी खोलाखण्ड) र बिपी राजमार्ग (काभ्रे) एकतर्फी सुचारु भएको छ भने सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर), मध्यपहाडी लोकमार्ग (भोजपुर), टोखा छहरे सडकखण्ड (नुवाकोट)मा रात्रीकालीन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।   प्रहरीले अवरूद्ध भएका देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू अन्य निकाय तथा स्थानीयबासीको समन्वय र सहयोगमा उपकरणसहित सडक सुचारु गर्न र पहिरो पन्छाउन निरन्तर खटिरहेका छन् ।