५० हजारको प्रलोभनमा २१ वटासम्म बैंक खाता खोलाउने सागर साह र आनन्द आचार्य प्रहरीको फन्दामा 


काठमाडौं – विभिन्न व्यक्तिलाई रकम दिने प्रलोभनमा पारी उनीहरूको नाममा सिमकार्ड तथा बैंक खाता खोल्न लगाएर गैरकानुनी आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको त्रिपुरेश्वर बस्ने सागर साह र सिन्धुपाल्चोकको चौतारा घर भई काठमाडौंको कुमारीगाल बस्ने आनन्द आचार्य रहेका छन्।

प्रहरीका अनुसार साह र आचार्यले विभिन्न व्यक्तिलाई निश्चित रकम दिने प्रलोभन देखाएर एनसेललगायत दूरसञ्चार कम्पनीका सिमकार्ड खरिद गर्न लगाउने तथा विभिन्न बैंकमा ई–बैंकिङ्ग र एटीएम सुविधासहितका खाता खोल्न लगाउने गरेका थिए। उनीहरूले त्यसरी खोलिएका बैंक खातासँग सम्बन्धित चेकबुक, एटीएम कार्ड, सिमकार्ड तथा मोबाइल बैंकिङ्गका ओटीपी र पिन नम्बरसमेत आफ्नो नियन्त्रणमा लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती खाता र सिमकार्डमार्फत हुन्डी, अनलाइन बेटिङ, अनलाइन गेम तथा अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिबाट आएको रकमको कारोबार गर्ने गरेको आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बैंक खाता, एटीएम तथा सिमकार्ड उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाएर एउटै व्यक्तिलाई विभिन्न बैंकमा २१ वटासम्म खाता खोल्न लगाएको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले विभिन्न व्यक्तिका नाममा २६० भन्दा बढी बैंक खाता खोल्न लगाएको र ती खातासँग सम्बन्धित सिमकार्ड, मोबाइल बैंकिङ्ग तथा एटीएम कार्डसमेत आफ्नो नियन्त्रणमा लिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

तर, प्रलोभनमा पारेर खाता तथा सिमकार्ड उपलब्ध गराएका व्यक्तिहरूलाई प्रतिबद्धता गरिएको रकम नदिएपछि उनीहरू शंकित भएका थिए। त्यसपछि केही व्यक्ति प्रहरीसमक्ष पुगेर उजुरी दिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले अनुसन्धानका क्रममा साह र आचार्यलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट दुई थान ल्यापटप, २२ थान सिमकार्ड, तीन थान मोबाइल फोन र दुई थान एटीएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूलाई पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।