बाढीपहिरोबाट विद्युत् संरचनामा ठूलो क्षति, यस्तो छ विवरण


काठमाडौं – बाढीपहिरोका कारण प्रभावित जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनाको पुनःस्थापनाको काम नेपाल विद्युत् प्राधिकरणले तीव्र बनाएको छ। बाढीका कारण केही जलविद्युत् आयोजना उत्पादनका लागि तयार रहे पनि प्रसारण संरचनामा क्षति पुगेपछि राष्ट्रिय विद्युत् प्रणालीमा जोडिन सकेका छैनन्।

चार दिनको वर्षापछि आएको बाढीले कुश्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति पुर्‍याउँदा ७ वटा जलविद्युत् आयोजनाको कुल १९०.४ मेगावाट विद्युत् प्रसारण प्रभावित भएको छ। प्रभावित आयोजनामा निलगिरि–१ (३८ मेगावाट), निलगिरि–२ (२१ मेगावाट), मिस्त्री (४२ मेगावाट), थापाखोला (१३.६ मेगावाट), घारखोला (१४.८ मेगावाट), रेलेखोला (६ मेगावाट) र घलेम्दी (५ मेगावाट) रहेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले जनाएको छ। बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध रहेकाले प्रभावित संरचनाको विस्तृत निरीक्षणमा कठिनाइ भएको छ।

राहुघाट जलविद्युत् केन्द्रबाहेक थप १२७.८ मेगावाट क्षमताका आयोजनाको प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत ती आयोजनाको विद्युत् केही दिनभित्र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ। ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ। पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ।

यसैबीच, बाढीका कारण अवरुद्ध सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन्। १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्र पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। बाढीपहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो। म्याग्दी, बागलुङ, तनहुँको झापुटार र रुकुम पूर्वमा सेवा पुनः सञ्चालन भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज साँझसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको छ।

यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा क्षति पुगेको थियो। विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिसमेतका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ। उक्त क्षेत्रमा प्राधिकरण र उसका सहायक कम्पनीतर्फ प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।आगामी सुख्खायाममा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ। सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ।

माग व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी माध्यमबाट १५० मेगावाट गरी करिब १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। आन्तरिक उत्पादन र आयातसहित सुख्खायाममा कुल विद्युत् उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको सुख्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतमस्तर २ हजार २९२ मेगावाट पुगेको थियो।