पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कालाई मानव अधिकार आयोगले बोलायो


काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।

आयोगले सोमबार प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र पठाउँदै एसएसपी खड्कालाई मंगलबार (असोज १३ गते) आयोगमा उपस्थित गराउन भनेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबरा पक्राउ परेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रवेश गर्न नदिइएको विषयमा छलफल तथा सोधपुछ गर्न खड्कालाई बोलाइएको हो।

‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई डाकिएको हो,’ प्रवक्ता पोखरेलले बताए। आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई राखिएको टेकुस्थित कार्यालयमा अनुगमन तथा भेटका लागि पुगेको थियो। तर प्रहरीले आयोगको टोलीलाई कार्यालयमा प्रवेश गर्न नदिएपछि करिब ३५ मिनेट बाहिरै बसेर टोली फर्किएको थियो।

जबरालाई आइतबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा जोखिम रहेको भन्दै महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि उनलाई बिहान करिब ३ बजेतिर टेकुस्थित कार्यालयमा ल्याइएको थियो।

जबरालाई नियन्त्रणमा लिएको जानकारी पाएपछि आयोगको टोली अनुगमनका लागि कार्यालय पुगेको थियो। आयोगका अधिकारीहरूले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई समेत फोन तथा सन्देशमार्फत जानकारी गराएका थिए। तर पनि आयोगको टोलीलाई कार्यालयभित्र प्रवेश गर्न नदिइएको आयोगले जनाएको छ।