गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्ने मल्ल पक्राउ, बैंकिङ्ग कसुरसहित ६ वटा मुद्दा


काठमाडौं – गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भई,  काठमाडौंको कागेश्वरी मनोहरा बस्ने आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोको वास्तविकता बुझ्न खोज्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मल्ललाई सोधपुछका लागि प्रहरी टोली पुगेको थियो। त्यस क्रममा उनले प्रहरीलाई गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ।

मल्ललाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।अनुसन्धानका क्रममा उनको प्रहरी विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा बैंकिङ्ग कसुरसहित विभिन्न कसुरमा ६ वटा मुद्दा दर्ता रहेको खुलेको छ।

प्रहरीका अनुसार मल्लविरुद्ध सञ्चार ऐनसम्बन्धी एक मुद्दामा उनी फरार रहेको विवरणसमेत भेटिएको छ। साथै, अभद्र व्यवहार, बैंकिङ्ग कसुर तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता रहेको खुलेको छ।