काठमाडौं – नेपाल बार एशोसिएशनले न्यायालयलाई दबाब, प्रभाव वा अन्य कुनै माध्यमबाट आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको डटेर सामना गर्ने जनाएको छ। सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा सुरक्षा नियन्त्रणमा लिएको घटनाप्रति विरोध जनाउँदै बारले यस्तो धारणा सार्वजनिक गरेको हो। सोमबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा जबरालाई सुरक्षा चुनौती भन्दै २०८३ असोज १० गते मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। बारले पर्याप्त आधार र कारणबिना कुनै पनि नागरिकलाई नियन्त्रणमा लिनु र छाड्नु संविधान, कानुनको शासन तथा लोकतान्त्रिक शासन प्रणालीविपरीत हुने जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेटघाट गर्न नदिइएको विषयले घटनाको गम्भीरता थप बढाएको बारको भनाइ छ। विज्ञप्तिमा यसलाई सरकार स्वेच्छाचारी र अनुदारवादतर्फ ढल्किँदै गएको संकेतका रूपमा उल्लेख गरिएको छ। नेपाल बार एशोसिएशनले न्यायपालिकामा हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आफू निरन्तर न्यायिक सुशासनको पक्षमा आवाज उठाउँदै आएको जनाएको छ। न्यायपालिका स्वच्छ र भ्रष्टाचारमुक्त हुनुपर्ने भन्दै बारले सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट न्यायपालिकाको स्वच्छता र स्वतन्त्रताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको प्रतिवाद गर्ने जनाएको छ। त्यस्तै, पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएका गैरसंवैधानिक घटनाको समेत बारले विरोध गरेको छ। आधार, कारण र प्रमाणबिना कुनै पनि नागरिकलाई अनाहकमा पक्राउ गर्ने लगायतका कार्य नगर्न र नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
‘न्यायालयलाई दबाब, प्रभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको नेपाल बार एशोसिएशन डटेर सामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। बारले सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कुनै व्यक्तिले विचाराधीन मुद्दामामिलामा कुनै प्रकारको हस्तक्षेप, चासो, सरोकार वा छलफल नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेको छ। त्यस्तै, संवैधानिक इजलास वरिष्ठताको आधारमा वा गोलाप्रथाबाट गठन गर्ने व्यवस्था अविलम्ब लागू गर्न प्रधानन्यायाधीशसमक्ष पुनः आग्रह गरेको छ। न्यायपालिकाको स्वच्छता र शुद्धताका लागि चालिने हरेक कदममा आफ्नो साथ र सहयोग रहने बारले जनाएको छ।







About Us
प्रतिक्रिया