‘नवप्रवेशी लगानीकर्तालाई सचेत गराउँदा उल्टै गाली खाइन्छ’

‘नवप्रवेशी लगानीकर्तालाई सचेत गराउँदा उल्टै गाली खाइन्छ’

नवप्रवेशी लगानीकर्ताले शेयर किन्दा ‘हल्ला’ मा पैसा तिर्छन् – निरज गिरी

निकेश खत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार गठन भएपछि शेयर लगानीकर्तामा मनोबल बढेको छ । यससँगै विगत ३ वर्षदेखि १८ सय अंकको बिन्दुमा रुमल्लिएको बजार यतिबेला तीव्ररुपमा उकालो यात्रा गरिरहेको छ । बजारमा ‘बुलिस ट्रेण्ड’ सुरु भएसँगै नयाँ लगानीकर्ताको प्रवेशसमेत ह्वात्तै बढेको सीडीएससीको आँकडाले देखाउँछ । बढ्दो बजारमा वित्तीय सूचक नकरात्मक भएका कम्पनीहरुको मूल्य समेत निरन्तर बढ्छ ।

त्यसैले नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्ने समय र बाहिरिने समयबारे जानकारी हुन्न । नवप्रवेशी लगानीकर्तालाई लक्षित गर्दै नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी अधिकृत तथा फाइनान्सियल लिट्रेसी नेपालका सचिव निरज गिरीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको संपादित अंशः–

तपाईँले धितोपत्र बोर्ड छाडेको २ वर्ष भयो । यतिबेला कता व्यस्त हुनुहुन्छ ? कि वित्तीय साक्षरता बढाउने काममा मात्रै सामेल हुनुहुन्छ ?

अहिले मुख्यगरी वित्तीय साक्षरता बढाउने काममा नै संलग्न छु । त्यसअघि नबिल स्टक डिलरको अध्यक्षको भूमिकामा बसेर पनि काम गरे । मूख्य त ‘फाइनान्सियल लिट्रेसी’को कामलाई नै प्राथमिकतामा राखेको छु । अहिले नै बजार बढेको समयमा ठूला र अनुभवी लगानीकर्ताले विभिन्न ‘बुल’ र बियर’ देखिसकेका छन् । तर नवप्रवेशी लगानीकर्ताले बढेको मात्रै देख्नुभएको छ । उहाँहरुलाई सकेजति बजारको विगतको बारेमा बुझाउन भूमिका खेलिरहेको छु । यतिबेला नियामकीय निकायको भूमिका समेत देखिएको छैन । यस्तो अवस्थामा लगानीकर्ता स्वयम सजग बन्नुपर्ने अवस्था आएको छ र उहाँहरुलाई वित्तीय रुपमा नै साक्षर बनाउने गरी काम गरिरहेको छु ।

त्यसो भए अहिलेको तपाईँको मुख्य काम शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्तालाई वित्तीय साक्षरता जगाउने नै हो ?

हो । मान्छे साक्षर बन्नु र वित्तीय रुपमा साक्षर बन्नु फरक विषय हो । एमबीए गरेको व्यक्ति पनि वित्तीय रुपमा साक्षर नहुन सक्छ। डाक्टर वा इञ्जिनियर पनि वित्तीय रुपमा साक्षर नहुन सक्छन् । सोही कारण पढेलेखेका व्यक्तिदेखि सर्वसाधारणसम्मलाई वित्तीय साक्षरताको बारेमा जानकारी दिने काममा व्यस्त छु । वित्तीय साक्षरतामा मुख्यगरी पैसा कसरी कमाउने, धनी कसरी बन्ने र जोखिमरहित काम कसरी गर्ने लगायतका विषयमा केन्द्रीत हुन्छ ।

मानिसहरुलाई वित्तीय साक्षर बनाउनुबाहेक अन्य केही गर्दै हुनुहुन्छ ? यतिबेला शेयर बजार परिसूचक ३ हजार अंकको आसपास पुगिसकेको छ । यस्तो अवस्थामा विगतको अनुभव सदुपयोग गर्दै कारोबार गर्दै हुनुहुन्छ कि ?

मैले शेयर बजारको कारोबार गरेको छैन । मसँग टीएमएस छ । तर कारोबार गरेको छैन । धेरैले चाँही मैले कारोबार गरेको छैन भन्दा पत्याउनु हुन्न । विगतमा झण्डै ३ दशक बोर्डमा बसेको अनुभवका आधारमा वित्तीय साक्षरताकै क्षेत्रमा काम गरिरहेको छु । बोर्डमा बस्दा पनि नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा ७७ वटै जिल्लामा वित्तीय साक्षरताको कार्यक्रमहरु गरिएको थियो।

‘ट्रेडिङ’ मात्रै नगर्नु भएको वा लगानी नै छैन ? के हो ?

लगानी चाँही गरेको छु । तर ट्रेडिङमा सहभागी छैन । बोर्डमा बसेर कर्मचारीले दोस्रो बजारमा कारोबार गर्न नपाउने आचारसंहिता बनाएका थियौं । तर प्राथमिक बजारमा आवेदन दिन पाउने व्यवस्था थियो । पछि– पछि सबैले आईपीओ भर्न थालेपछि भने पर्न छाड्यो र आवेदन नै दिन छाडियो ।

आईपीओको कुरा गरिहाल्नु भयो । १० कित्ते नीतिपछि बजारमा आईपीओमा आवेदन दिन चाहनेको संख्या अत्याधिक रुपले बढ्यो । अब चाँही यो नीति हटाउने विषय उठिरहेको छ, नि ?

१० कित्ता नीति बनाउन बोर्ड अध्यक्षमा डा. रेवत कार्की हुनुहुन्थ्यो । हाीि सबै टिम बसेर छलफल गरेका थियौं । १० कित्ता नीति ल्याउनुको मूख्य कारणचाँही आस्वा सुरु हुनु हो । आस्वा सुरु भएपछि आईपीओ भर्न लाईन बस्न नपर्ने भएपछि यस्तो व्यवस्था गरिएको थियो । त्यससँगै कागजबाट आईपीओ भर्न पर्ने बाध्यात्मक अवस्थाबाट छुटकारा पाइयो र ७७ वटै जिल्लाबाट भर्न सक्ने अवस्था आइपुग्यो ।

यतिबेला पनि वित्तीय कारोबार मुख्यगरी काठमाडौंमा केन्द्रीत छ । तर, हाम्रो मूख्य लक्ष्य काठमाडौं बाहिर पनि शेयर बजारको विकास र विस्तारको योजना थियो । बाहिरी मुलुकको अनुभवका कारणले पनि १० कित्ता नीति लिइएको थियो । बजार विस्तारसँगै यो नीति आवश्यक परिरहँदैन जस्तो मलाई लाग्छ । १० कित्ता नीति सँधै राखिरहनु हुँदैन र यसलाई हटाएर एउटा मापदण्ड तोक्नुपर्छ ।

तपाईँले सुरुसुरुमा आईपीओ पर्थ्यो । सबैले भर्न थालेपछि पर्न छाड्यो भन्नुभयो नि । आफैले बनाएको नीतिबाट आईपीओ नपरेपछि कहिँकतै दुःख पनि लाग्थ्यो कि ?

सुरुमा सबैलाई बाँनी पार्न यो नीति लिइयो । आईपीओ परेपछि १०० रुपैयाँबाट माथि गएको स्थिती थियो । त्यसले मान्छेहरुलाई आईपीओ जसरी पनि पर्नुपर्ने भन्ने लाग्न थाल्यो । यहीकारण सबैमा आकर्षण भएर प्रतिस्पर्धी बढेपछि सबैलाई पर्छ भन्ने निश्चित भएन । एउटै कम्पनीको आईपीओमा २३ लाख जनालेसम्म आवेदन दिन थाले । यसबाट हामी खुसी नहुने कुरै भएन । तर आईपीओलाई दोस्रो बजारमा कसरी लैजाने भन्ने विषय चुनौतीपूर्ण नै छ ।

विदेशी बजारमा १ कित्ता शेयर पनि किनबेच गर्न पाइन्छ । मेरो शेयर खातामा १ कित्ता पनि शेयर हुन्छ । यस आधारमा १० कित्ता नीति हटाउनै किन पर्यो र ?

विश्व बजारमा ‘वान मल्टीपल वान’ भन्ने प्रचलन छ । नेपालमा १ कित्ता शेयर किनबेच गर्न नसक्ने भन्ने छैन । यसका लागि नेपालमा पूर्वाधार निर्माण भइसक्यो । सीडीएससी, नेप्से, ब्रोकर र टीएमहरु तयार भइसकेका छन् । त्यसले ‘वान एण्ड वान मल्टीपल’ कारोबार सुरु गर्न सक्ने अवस्थामा हामी छौं । सुरुमा कागजी प्रक्रियाबाट शेयर कारोबार भएको थियो, जसकारण सेटलमेन्टमा समस्या आउँथ्यो । अहिले पूर्वाधार तयार भइसकेका कारणले हामी पनि सोही प्रक्रिया सुरु गर्न सक्छौं ।

त्यसो भए नियामकले चाहेमा १ कित्ता शेयर किनबेच गर्न सक्ने अवस्थामा हामी छौं ?

धितोपत्र बोर्ड र नेप्सेले चाहेमा सकिन्छ । यसका लागि केही प्रणाली विकास गर्नुपर्ने वा के गर्ने भन्ने नियामकले विचार गर्ने हो ।

अब फेरी अहिलेको बढ्दो बजारमा फर्किऔं । अहिलेको वृद्धिलाई नजिकबाट नियाल्दै हुनुहुन्छ । तपाईँलाई के लाग्छ, बजार अझै माथि जान्छ ?

बजारको काम नै तलमाथि गर्ने हो । ५० सालदेखि यताको बजारलाई हेर्दा विभिन्न साइकल देखिन्छ । कोरोना महामारीपछि ३२ सय पुगेर १८ सयमा आएको नै ३ वर्ष हाराहारी भइसक्यो । यसबीचमा १८ सयदेखि २ हजारको बिन्दुमा बसेको थियो । लगानीकर्तामा पनि बजार बढ्नुपर्ने ‘प्रेसर’ थियो ।

अहिले अर्थतन्त्रको तुलनामा लगानीकर्ताको मनोविज्ञानले बजार बढ्ने अवस्थामा थियो । यही समयमा मौद्रिक नीति परिवर्तन भयो । सरकार परिवर्तन भयो र बजारमा मनोबल सृजना भयो । तर, बजारमा नेप्से परिसूचक ४ हजार नाघ्ने र ५ हजार नाघ्ने हल्ला फैलिएको छ । बढ्दो बजारमा वित्तीय विवरण कसैले हेरेका छैनन्, हल्लाको पछाडि दौडिएर शेयर किनिरहेका छन् । तर पनि बजारको वृद्धि स्वभाविक थियो र बढ्यो । यद्यपी वृद्धिको गति हेर्दा जोखिम झनै बढेको देखिन्छ ।

दुई ठूला दल मिलेर यतिबेला नयाँ सरकार बनेको छ । यसले लगानीकर्ताको मनोबल बढेको छ । सरकार नयाँ गठन भएपनि आर्थिक सूचक त पुरानै छ । यसमा जोखिम कत्तिको देख्नुहुन्छ ?

सरकार फेरिन साथ आर्थिक सूचक सुधारिएका छैनन् । सरकार नयाँ बन्न साथ अर्थतन्त्रका सूचक फेरिएका हैनन् । यसकारण बढ्दो बजारमा जोखिम पनि बढ्छ । अर्थतन्त्र चलेको छैन तर बजार चाँही १०० अंकको फरकमा बढेको छ । अहिले कसैले वित्तीय विवरण नै हेरेको छैन र लगानीकर्तालाई यसबारे बुझाउने प्रयास गर्दा पनि गाली खाइन्छ । वित्तीय सूचक राम्रोसँग हेरेर मात्रै लगानी गर्न सुझाव दिन्छु । नवप्रवेशी लगानीकर्ताले हल्लाको मूल्य तिरिरहेका छन् ।

तपाईले यो विषय सुरु गरिहाल्नु भयो । यतिबेला कसैले शेयर बजारको जोखिमबारे बोल्दा गाली खाने स्थिति छ । केही सांसदहरुले बोल्नुभएको थियो । तपाईलाई के लाग्छ ? अराजक व्यक्ति लगानीकर्ता बनेका हुन् वा लगानीकर्ता बनेपछि अराजक बनेका हुन् ?

यो वित्तीय साक्षरताको कमी हो । हाम्रोमा सँधै बजार बढ्छ भन्ने सोच विकास भयो । अनि बजार घटेपछि अराजक शैलीमा प्रस्तुत हुने स्थिति देखिन्छ । सांसदज्यूहरुले बजारमा जोखिम छ भनेर मात्रै खुलाउनु भएको थियो । बुझ्ने लगानीकर्ताले बुझेपछि नवप्रवेशीलाई ज्ञान दिन चाहने उहाँहरुको सोच देखिन्छ । सचेत र सजग गराउन पर्ने जिम्मेवारी हामी सबैको हो ।

तपाईँलाई लामो समय बोर्डमा बसेर वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरेपनि साक्षर बनाउन सकिएनछ जस्तो लाग्दैन ?

सुरुमा आईपीओमा आवेदन दिन लगाउने एउटा तह हुन्छ । आईपीओबाट दोस्रो बजारमा गएपछि वित्तीय विवरण हेर्न, कम्पनी विश्लेषण लगायतका विषय सिक्नुपर्छ । बजारमा सानो सामान किन्न जाँदा पनि मूल्यको अन्तर, गुणस्तर र उत्पादक कम्पनी बुझेर मात्रै किन्छौं । लगानी पनि सामान किनेको जस्तै हो । यसमा प्रतिफलको लक्ष्य हुन्छ । आफ्नो लगानीबाट प्रतिफल लिने लक्ष्यसहित पैसा हाल्नुअघि अध्ययन त गर्नैपर्छ ।

फेरी बजारको वृद्धितर्फ फर्किऔं। यतिबेला तपाईँको विचारमा बजार बढ्नुको मूख्य कारण वा आधार के हुन सक्छन् ?

सरकार परिवर्तनसँगै आर्थिक सूचकमा परिवर्तन देखिँदैन । तर नेपाल राष्ट्र बैंकले गरिदिएको खुकुलो नीतिका कारण भने बजारमा सकारात्मक स्थिति देखिन्छ ।

नेपालको इतिहासमा हेर्दा जबजब अर्थतन्त्र संकटमा जान्छ, तबतब बजार बढ्छ । भूकम्प, कोरोना महामारी र अहिलेको शिथिलतालाई उदाहरणकारुपमा लिन सकिन्छ । किन यस्तो हुन्छ ?

बैंकमा तरलता बढेपछि शेयर लगानीकर्तालाई सस्तो ब्याजमा ऋण प्रवाह भयो । अर्थतन्त्र शिथिल बनेको समयमा बैंकमा लगानीयोग्य रकम पर्याप्त हुन्छ । यही समयमा लगानीकर्तालाई बोलाएर सस्तोमा ऋण प्रवाह गर्छन् । अर्थतन्त्र चलेको समयमा बैंकको ऋण अन्य क्षेत्रमा प्रवाह हुन्छ । अन्यत्र ऋण प्रवाह नहुँदा नाफा कमाउनुपर्ने दबाबमा रहेका बैंकले शेयरमा ऋण प्रवाह गर्छ । यहीकारण अर्थतन्त्रमा चुनौतीपूर्ण स्थिती आउँदा बजार बढ्छ ।

‘बुल मार्केट’मा नवप्रवेशी लगानीकर्ता डुब्ने जोखिम बढी हुन्छ । अन्त्यमा लगानीकर्तालाई सुझाव दिनुपर्दा के दिनुहुन्छ ?

साना लगानीकर्ता र नवप्रवेशी लगानीकर्ताले बजार प्रवेश गर्दा सँधै रणनीति बनाउनुपर्छ । अहिलेको समय लगानीको समय होइन । त्यसैले ‘ट्रेडिङ’को समय हो । व्यापार गर्दैगर्दा ‘टार्गेट सेट’ गरेर लोभ नगरी बजारबाट निस्कनुपर्छ । यस्तै वित्तीय सूचक उत्कृष्ट भएका कम्पनीलाई समेत प्राथमिकतामा राख्नुपर्छ । किनकी, भोली बजार घटिहालेपनि नडुबियोस् ।