काठमाडौं – सर्वसाधारणको हराएको सिमकार्ड दुरुपयोग गरी २४ लाख ४७ हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका रोशन पहाडी र डडेल्धुराका सुभाष ओझा रहेका छन्। प्रहरीले पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पीडित कान्छी लामाको नाममा वि.स.२०७० असोज २ गते एउटा सिमकार्ड जारी भएको थियो। लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा सोही मोबाइल नम्बर प्रयोग गरी मोबाइल बैंकिङ्गको सुविधा लिएकी थिइन्।
तर,उक्त नम्बर प्रयोग गरिरहेकै अवस्थामा करिब ६ वर्षपछि उनको सिमकार्ड हराएको पाइएको छ। उनको उक्त हराएको सिमकार्ड रोशन पहाडीले लिएको देखिएको प्रहरीले बताएको छ। त्यसपछि उक्त सिमकार्ड पुनः सक्रिय भएपछि कान्छी लामाको बैंक खातामा जम्मा भएको रकमको सन्देश पहाडीको मोबाइलमा आउन थालेको खुल्न आएको छ।
त्यसपछि पहाडी र ओझाले मिलेर सोही नम्बरबाट कुमारी बैंकको मोबाइल बैंकिङ्ग सेवा सुरु गरे। उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी बैंक खातामा रहेको रकम विभिन्न ईसेवा, खल्ती र अन्य व्यक्तिहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाएर रकम झिक्ने गरेको प्रहरीको जनाएको छ।
उनीहरूले मोबाइल बैंकिङ्गको दुरुपयोग गरी २४ लाख ४७ हजार विभिन्न बैंक एकाउन्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको खुल्न आएको छ। उनीहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया