काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकड्ढा छन्। जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीले दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन्। जसमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा आन्दोलन र असोजको बाढीको प्रभाव देखिएको छ।
बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीको नाफामा सामान्य वृद्धि देखिएको छ। तर, निर्जीवन बीमा कम्पनीको नाफा भने ऋणात्मक देखिएको छ। गत भदौ २३ र २४ गतेको विध्वंसपूर्ण आन्दोलनको प्रभाव निर्जीवन बीमा कम्पनीको काँधमा आउँदा नाफा प्रभावित बनेको छ। यसमा असोजमा आएको अप्रत्यासित बाढीको भारको प्रभाव समेत बीमा कम्पनीहरुमा थपिएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनबाट बीमा कम्पनीमा २३ अर्ब ७७ करोड २८ लाख बराबरको दावी परेको थियो। जसमध्ये गत माघ ५ गतेसम्म बीमा कम्पनीहरुले ५ अर्ब ९८ करोड २ लाख बराबर भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ। यस्तै, असोजमा आएको बेमौसमी बढीका कारण पनि बीमा कम्पनीको नाफा प्रत्यक्ष प्रभावित बनेको हो।
प्राधिकरणकाअनुसार असोजको बढीमा भएको क्षतिका कारण १४ वटा निर्जीवन बीमा कम्पनीमा ४ अर्ब १९ करोड २५ लाख बढीको दाबी परेको थियो। जसमध्ये हालसम्म बीमा कम्पनीले १९ करोड ६३ लाख बराबरको दावी भुक्तानी गरेका छन्। जेनजी आन्दोलन र बढीका कारण बीमा कम्पनीको नाफामा प्रत्यक्ष असर पार्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ऋणात्मक बन्न पुगेको हो।

जसकारण, समग्रमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुको नाफा पुससम्ममा ४१ लाख १५ हजारले ऋणात्मक रहेको छ। जबकी कम्पनीहरुले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड ८६ लाख नाफा कमाएका थिए। यतिमात्र नभई बीमा कम्पनीको आम्दानी पनि खुम्चिएको छ। बैंकको ब्याजदर लगातार रुपमा घट्दा बीमा कम्पनीको नाफामा गिरावट आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री बताउँछन्।
६ कम्पनीको नाफा घट्यो, ५ कम्पनी घाटामा
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विभिन्न पाँच कम्पनी नोक्सानीमा गएका छन्। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६ वटा कम्पनीको खुद नाफा घटेको छ भने एउटा कम्पनीको मात्रै नाफा बढेको छ। अधिकांश कम्पनी घाटामा जाँदा प्रभु इन्स्योरेन्सले नाफा बढाएर १२ करोड २४ लाख ४९ हजार पुर्याएको हो। गत वर्षको पुस मसान्तसम्मा कम्पनीले १२ करोड ४९ हजार नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउने बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले १७ करोड ७२ लाख ६३ हजार नाफा आर्जन गरेको हो। सबैभन्दा बढी नाफा कमाएपनि गत वर्षको तुलनामा भने कम्पनीको नाफा पनि ओरालो लागेको छ। दोस्रो त्रैमाससम्ममा नाफा घटेका बीमा कम्पनीमध्ये नेपाल इन्स्योरेन्सको नाफा ४९ लाख ५८ हजार, नेको इन्स्योरेन्सको नाफा १ करोड ७ लाख ७५ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १ करोड ५७ लाख ५५ हजार कायम भएको छ। यस्तै, एनएलजी इन्स्योरेन्सको नाफा १ करोड १० लाख ४४ हजार र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३ करोड ७३ लाख ४४ हजारमा झरेको छ।
गत वर्ष नोक्सानी बेहोरेका दुई बीमा कम्पनी यस वर्ष नाफामा गएका छन्। गत वर्ष नै घाटा व्यहोरेको दि ओरिएन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स नाफामा गएका हुन्। जसमध्ये ओरिएन्टलले १६ करोड २२ लाख ३४ हजार र नेशनलले ६ करोड १० लाख खुद नाफा आर्जन गरेका छन्।
यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा शिखर इन्स्योरेन्सले ४ करोड ४७ लाख ३१ हजार, सानिमा जीआईसी इन्स्योरेन्सले ९ करोड ५९ लाख ५ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले १० करोड ६६ लाख २८ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १७ करोड ८५ लाख ५२ हजार र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १८ करोड ११ लाख ३२ हजार खुद नोक्सानी बेहोरेका छन्।
जीवन बीमकको नाफा पनि घट्यो
जीवन बीमा कम्पनीको नाफामा पनि गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४.७३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएका बीमा कम्पनीहरुले यस वर्षको पुससम्ममा ३ अर्ब ३२ करोड ३३ लाख नाफा आर्जन गरेका हुन्।
हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीको खुद नाफा बढेको छ भने ५ वटा कम्पनीको नाफा घटेको छ। दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा बढाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। एलआईसी नेपालले २२ करोड ४५ लाख ५८ हजार नाफा कमाएको छ।
यस्तै, सानिमा रिलायन्स लाइफले २७ करोड ६१ लाख ८७ हजार, रिलायबल नेपाल लाइफले ३९ करोड ५८ लाख ७८ हजार, एशियन लाइफले २६ करोड ३५ लाख ६३ हजार, सूर्यज्योति लाइफले २० करोड १८ लाख ७३ हजार र नेशनल लाइफले २८ करोड ६८ लाख ३१ हजार नाफा आर्जन गरेका छन्। त्यसैगरी, सन नेपाल लाइफले २८ करोड ५४ लाख १५ हजार, आइएमई लाइफले २७ करोड ६ लाख ५८ हजार सिटिजन लाइफले २३ करोड १५ लाख २९ हजार नाफा कमााएका छन्।
यता, राष्ट्रिय जीवन बीमा कम्पनीले ३८ लाख ६९ हजार, हिमालयन लाइफले २० करोड ६७ लाख ३७ हजार, नेपाल लाइफले ३३ करोड ६९ लाख २० हजार, प्रभु महालक्ष्मी लाइफले १३ करोड ३१ लाख ५९ हजार र मेट लाइफले २० करोड ३५ लाख ८ हजार नाफा आर्जन गरेका छन्। जुन नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा कम हो।
बीमा कम्पनीहरूले ठूलो रकम बैंकको मुद्दति निक्षेपमा राख्दै आइरहेका छन्। बीमा कम्पनीहरूले प्रिमियम संकलन गरेर बैंकहरूको ब्याजदरमा आधारित बन्ड, मुद्दति निक्षेप लगायतमा लगानी गर्ने गर्छन्। ब्याजदर घट्दा यस्ता लगानीबाट प्राप्त हुने प्रतिफलमा पनि गिरावट आउँछ। हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो यात्रामा छ। जसका कारण पनि बीमा कम्पनीको नाफामा गिरावट आएको हो।



About Us
प्रतिक्रिया