काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सङ्गठनमा गलत काम गर्ने कसैलाई नभएको र राष्ट्रका सिपाही जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन्। असोज १६ गते कोशी प्रदेशस्थित सीमा इलाकाको निरीक्षण भ्रमणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र सङ्गठनको म्याण्डेटलाई अक्षरश एवं व्यावसायिक ढङ्गले पूरा गर्न समेत निर्देशन दिएका छन्।
उनले सीमा अपराधको जरामा पुगी कारबाही गर्ने र सङ्गठनमा बसेर गलत काम गर्ने कसैलाई छुट छैन भन्ने मूल मर्मका साथ नेपाल सरकारको सुशासनको नीतिलाई पूर्ण रूपमा आत्मसाथ गर्दै अघि बढ्न जोड कमाण्डर तहका अधिकृतहरूलाई निर्देशन दिए। पौडेलले गृहमन्त्रीको प्रभावकारी कार्यसम्पादन, उपलब्ध स्रोतसाधनको उचित उपयोग र गुनासोरहित नतिजामा आधारित निर्देशनहरूलाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले कुनै पनि युनिट वा कार्यालयमा नागरिकको गुनासो आउन नदिने गरी स्रोतसाधनको समुचित परिचालन गर्न र युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी युनिट प्रमुख स्वयंले लिनुपर्ने स्पष्ट पार्दै कमाण्डरले उच्च अनुशासन प्रदर्शन गर्दै तल्लो तहका कर्मचारीहरूका लागि प्रेरणादायी रोल मोडल बनेर प्रस्तुत हुनुपर्ने बताए।
महानिरीक्षक पौडेलले प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको उल्लेख गदै सीमा सुरक्षा, सीमा पार अपराध नियन्त्रण एवं अवैध चोरी–निकासी र पैठारी नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिए। यो वा त्यो बहानामा गल्ती गर्ने छुट कसैलाई नभएको स्मरण गराउदैं पौडेलले भने– ‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन हामी सबै राष्ट्रका सिपाही हौँ, पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन भन्ने व्यावसायिक अडानका साथ प्राप्त जिम्मेवारी जवाफदेहिताका साथ पुरा गर्नुहोस् ।’
उनले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनको पर्यायका रूपमा स्थापित भइसकेकोले प्रत्येक कमाण्डरहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम र चुनौतीहरूको तथ्यगत पहिचानसहितको प्रतिकार्य योजना अनिवार्य हुनुपर्ने बताउँदै सीमावर्ती क्षेत्रका बासिन्दाहरूसँग नियमित अन्तरक्रिया गरी नागरिकको विश्वास र भरोसा जित्न तथा विपद्का बखत अहोरात्र खटिएर राहत र उद्धारमा जुट्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
सो कार्यक्रममा नं. १ बराह वाहिनीका मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले सशस्त्र प्रहरी पौडेलले दिएको निर्देशनलाई अक्षरस पालन गर्दै सीमा सुरक्षामा हुने अवैध क्रियाकलाप रोक्न निरन्तर लागि रहेको बताए।






About Us
प्रतिक्रिया