दसैं विशेषः

दसैंमा बढ्यो भन्सार छली, लाखौँका अवैध सामान बरामद


काठमाडौं – दसैं तिहारजस्ता ठुला चाडपर्वका बेला नेपालमा भन्सार छलीका घटना वर्षेनी बढ्ने गरेको छ। पछिल्ला दुई वर्षका दसैं तिहार अवधिमा मात्रै ६३ करोड ८५ लाख रुपैयाँ बराबरका सामान बरामद भएका छन्। चाडपर्वमा बजारमा उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय सामग्रीलगायतका सामानको माग बढ्ने भएकाले तस्करी तथा भन्सार छलीका घटना पनि बढ्ने गरेका छन्।

राजस्व छल्दै अवैध रूपमा सामान भित्राउने हुँदा राज्यको आम्दानीमा असर पर्ने मात्र नभई वैध रूपमा व्यापार गर्ने व्यवसायीसमेत प्रभावित हुने गरेका छन्। प्रहरीले पछिल्लो दिनहरूमा सीमा नाका क्षेत्रबाट लगातार रूपमा भन्सार छली गरी ल्याइएका सामानहरू बरामद गरिरहेको छ। असोज १४ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्ति गेट चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुनका गहनासहित काठमाडौं बस्ने ईला पटेललाई पक्राउ गरेको थियो।

त्यस्तै, असोज १९ गते पर्सा प्रहरीले १० लाख ६ हजार ७६० रुपैयाँ बराबरका भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको थियो। साथै, जिल्ला प्रहरी कार्यालय धनुषाले असोज २४ गते जनकपुरधाममा ई–रिक्साको सिटमुनि लुकाएर ल्याइँदै गरेका करिब आठ लाख ८५ हजार रुपैयाँ मूल्यका सामान बरामद गरेको थियो। यसैगरी, असोज २३ गते पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२, रमपुरवास्थित सडकछेउमा बेवारिसे अवस्थामा राखिएका सवारीसाधनका पाट पुर्जा प्रहरीले बरामद गरेको थियो। ती सामानको मूल्य करिब आठ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ।

त्यस्तै, प्रहरीको तथ्याङ्कले चाडपर्वको समयमा हुने अवैध आयात तथा भन्सार छलीको अवस्था गम्भीर रहेको देखाउँछ। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को असोजमा १८ करोड ७८ लाख रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरिएको थियो। उक्त अवधिमा ४४ जना पक्राउ परेका थिए। सोही आर्थिक वर्षको कात्तिकमा १८ करोड ९९ लाख रुपैयाँ बराबरका अवैध मालसामान बरामद हुँदा ५३ जना पक्राउ परेका थिए।

साथै, आर्थिक वर्ष २०८२/८३ को असोजमा १५ करोड २४ लाख रुपैयाँ बराबरको अवैध मालसामान बरामद भएको छ। उक्त महिनामा ३६ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८२/८३ को कात्तिकमा १० करोड ८४ लाख रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरेको थियो। उक्त महिनामा ६६ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार, दसैंमा भन्सार छलीका घटनाहरू हुन नदिन सीमा सुरक्षाका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिने भएको छ। साथै, सीसी क्यामरा, के९, ड्रोन लगायतका प्रविधिहरूको समेत प्रयोग गरिएको उनले बताए। प्रहरीले दसैंको समयमा शान्ति सुरक्षा कायम राख्न सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापनामा गरी थप ७ सय ५ जनशक्ति परिचालन गरेको छ। सीमामा विभिन्न प्रकृतिका प्रहरी टोली तथा प्रविधिको प्रयोग गरी आवतजावत र सम्भावित आपराधिक गतिविधिमाथि निगरानी गरिने प्रहरीले जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा सूचना संकलनलाई व्यापक बनाउने, सम्भावित जोखिम भएका व्यक्ति तथा गतिविधिको प्रोफाइलिङ गर्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने तयारी गरेको उनले बताए। साथै, सशस्त्र प्रहरी बल नेपालले पनि सीमामा हुन सक्ने सीमा अपराधलाई न्यूनीकरण गर्न नेपाली नागरिक एवं नेपाल प्रवेश गर्ने पर्यटकहरूको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाइएको छ।

सशस्त्रका प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार जुनसुकै प्रकारको विपद्मा परेका सेवाग्राहीहरूको उद्धार कार्यमा सहयोग पुर्याउन भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायहरूसँगको समन्वय र सहकार्यमा १ सय ४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरेको छ।

झापाको काँकडभिट्टा, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागू औषध पहिचान गर्न सक्ने तालिम प्राप्त स्निफिङ डग समेत परिचालन भएका छन्। सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी दैनिक सीमा नाका पिकेट ५ सय ४ वटा, सीमा लिङ्क पेट्रोल ४२ वटा एवं बोर्डर इन्र्टयाक्सन टिम ६ वटा परिचालन गरेको छ। चाडपर्व अवधिभर आवश्यकताको आधारमा समकक्षीसँग ९ सय २४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गरेको छ।

सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी संवेदनशील स्थानहरूको सुरक्षा निगरानीका लागि आवश्यकता अनुसार २१ वटा ड्रोन परिचालन गरेको छ। सीमा नाकाहरूका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४ सय १२ सीसीटिभी क्यामेरा मार्फत प्रधान कार्यालय, बाहिनी, गण तथा सम्बन्धित युनिटहरूबाट २४सैँ घण्टा अनुगमन गर्ने व्यवस्था मिलाएको छ।