दसैँमा खसी मासु र मिठा परिकार खादै लामो समयपछि भेटिएका साथीहरूसँग तास खेल्दै हुनुहुन्छ ? यदि तास खेल्दै हुनुहुन्छ भने यो भिडियो तपाईँका लागि निकै महत्त्वपूर्ण छ। घरपरिवारको साथमा हर्ष–उल्लासका साथ दसैँ मनाउने चलन छ, त्यही समयमा गाउँ–गाउँ र घर–घरमा जुवा तास खेल्ने गरेको पनि पाइन्छ। तर, के तपाईँलाई थाहा छ, जुवातासलाई हामीले सामान्य खेल माने पनि नेपालको कानुनले भने यसलाई प्रतिबन्ध लगाएको छ।
मिठा परिकार, नयाँ लुगा र आर्शिवादसँगै रमाइलो गर्ने सोचमा कतिपय मानिसहरूले जुवातासमा पनि भाग लिने गर्छन्। तर, यसले घरबार र व्यक्तिगत सम्पत्तिमा गम्भीर नोक्सानी पुर्याउने गरेको छ। जुवा तास खेल्नेलाई कानुनी रूपमा अपराध मानेको समयमा पनि चाडपर्वको अवसरमा जुवाडेहरूको संख्या वर्षभरिको तुलनामा निकै बढ्ने गर्छ। भन्सार विभागको तथ्यांक नै हेर्ने हो भने चालु आर्थिक वर्ष २०८३/८४ को भदौ सम्ममा १९ लाख बुक तास भित्रिएको छ। यस अवधिमा तासबाट मात्रै सरकारले ३ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ।
के हुन्छ कानुनी सजाय ?
जुवा खेल्ने र खेलाउने दुवैलाई प्रहरीले पक्राउ गर्ने व्यवस्था छ। यस क्रममा प्रहरीले केवल पक्राउ मात्रै गर्दैन जुवा खेल्न प्रयोग भएको सम्पत्ति जफत गर्ने पनि अधिकार प्रहरीमाथि छ। यति बुझेपछि पनि तपाई जुवा तास खेल्दै हुनुहुन्छ भने अर्को कुरा पनि तपाईँको लागि महत्त्वपूर्ण छ।
जुवा तास खलेकै कारण तपाई पहिलो पटक पक्राउ परेमा तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था छ। यस्तै, दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना र तेस्रो वा सोभन्दा बढी पटक प्रत्येक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना गराउने व्यवस्था छ। जुवामा प्रयोग भएको सवारीसाधन, मोबाइल फोन, पैसा र अन्य सम्पत्ति समेत जफत गर्ने कानुनी प्रावधान छ। धेरैजसो अवस्थामा जुवामा हारेर मात्र होइन, पक्राउ परेपछि व्यक्तिगत सम्पत्ति अरूको नाममा जाने जोखिम पनि हुन्छ।
के तपाईँलाई थाहा छ जुवा खेल्दा तपाईँले के–के गुमाउनुपर्छ ? यसको उत्तर हो, जुवा खेलेकै कारण तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ भने आफ्नै सम्पत्ति गुमाउनुहुनेछ। दसैँको रमाइलोको बीचमा जुवातासले ल्याउने जोखिम धेरै छन्। त्यसैले चाडपर्वको अवसरमा जुवा खेल्ने सोच भन्दा पहिले कानून बुझ्नुपर्छ र व्यक्तिगत नोक्सानीबाट पहिले नै बच्नुपर्छ।






About Us
प्रतिक्रिया