काठमाडौं – क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं ६२) ले ७.९९ प्रतिशत वार्षिक ब्याजदरमा ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार उक्त सुविधामार्फत ग्राहकले आफ्नो उपलब्ध इक्विटीको आधारमा थप लगानी क्षमता प्राप्त गर्न सक्नेछन्। कम्पनीले मार्जिन ट्रेडिङलाई ग्राहकको खरिद क्षमता बढाउने तथा उपलब्ध पुँजीको प्रभावकारी उपयोग गर्न सकिने वित्तीय सुविधाका रूपमा अघि सारेको छ।
कम्पनीका अनुसार मार्जिन ट्रेडिङ सुविधाअन्तर्गत १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म वित्तीय सीमा उपलब्ध हुनेछ। ग्राहकले न्यूनतम ३० प्रतिशत मार्जिन राख्नुपर्नेछ भने ब्रोकर कम्पनीबाट स्वीकृत सीमाभित्र अधिकतम ७० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराइनेछ।
मार्जिन ट्रेडिङको अवधि १ देखि ३ महिनासम्म रहनेछ। यस सुविधामा ०.२५ प्रतिशत सेवा शुल्क लाग्ने कम्पनीले जनाएको छ। कम्पनीले मार्जिन खातामार्फत वित्तीय सुविधा लिन सकिने र स्वीकृत सम्पूर्ण सीमामा नभई वास्तवमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने व्यवस्था रहेको जनाएको छ।
क्यापिटल म्याक्सका अनुसार ७.९९ प्रतिशतको ब्याजदरमा उपलब्ध हुने उक्त सुविधाले लगानीकर्तालाई कम प्रारम्भिक पुँजीबाट आफ्नो खरिद क्षमता विस्तार गर्न सहयोग गर्नेछ। यद्यपि, कम्पनीले मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने जनाएको छ। सुविधा प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित शर्तअनुसार सञ्चालन हुने कम्पनीले स्पष्ट पारेको छ।






About Us
प्रतिक्रिया