काठमाडौं – सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित हनुमान मन्दिरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले चोरी भएका चाँदीका गरगहना, दानपेटिकाबाट निकालिएको नगद तथा अन्य सामग्रीसमेत बरामद गरेको छ।
मन्दिरमा चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाटै १६ र १३ वर्षका दुई नाबालकलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा हनुमानको मूर्तिमा लगाइएको चाँदीको मुकुट, माला, टीका, चाँदीको मुख, आँखा तथा अन्य गरगहना र दानपेटिकामा रहेको रकम चोरी भएको मन्दिरका पुजारीले जानकारी गराएका थिए।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा मन्दिरको पछाडिपट्टि दक्षिणतर्फ रहेको खाली जग्गामा लुकाइछिपाइ राखिएको अवस्थामा चोरी भएका सामग्री फेला पारेको हो। बरामद सामग्रीमा हनुमानजीको मूर्तिको चाँदीको एक थान मुकुट, एक थान माला, एक थान टीका, एक थान चाँदीको मुख र दुई थान चाँदीका आँखा रहेका छन्।
त्यसैगरी, दानपेटिकाबाट निकालिएका नेपाली नोटतर्फ पाँच रुपैयाँका ४५ थान, १० रुपैयाँका ४२ थान, २० रुपैयाँका १२ थान र ५० रुपैयाँको एक थान गरी कुल ९३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। साथै, ५२ थान नेपाली सिक्का, २८५ थान भारतीय सिक्का र एक थान मोबाइलसमेत बरामद गरिएको छ। प्रहरीले बरामद गरिएका सामग्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।







About Us
प्रतिक्रिया