काठमाडौं- वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै सुरक्षा जोखिमलाई मध्यनजर गरी सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो।
राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई थप सुदृढ बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ।
बढ्दो साइबर सुरक्षा चुनौतीका बीच वित्तीय प्रणालीको सुरक्षा र विश्वसनीयता कायम राख्न सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन राष्ट्र बैंकले आग्रह गरेको छ। सेवा बन्द रहेको अवधिमा राष्ट्र अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन केन्द्रीय बैंकले आग्रह गरेकाे छ।






About Us
प्रतिक्रिया