दसैँ विशेष

दसैँको दक्षिणा शेयरमा लगानी गर्ने सुवर्ण अवसर


यसपालिको दसैँमा पाइने कम्पनीको बोनस र दक्षिणा के गर्ने भन्ने सोच्दै हुनुहुन्छ ? यदि सोचिरहनुभएको छ भने यो भिडियो तपाईँका लागि महत्त्वपूर्ण छ। भिडियो अन्त्यसम्म हेर्नुस् है। नेपालीहरूको महान् पर्व दसैँमा आर्थिक गतिविधि बढ्ने गर्दछ। तथ्यांकले नै पनि नेपालीहरूको वार्षिक उपभोग खर्चको ठुलो हिस्सा दसैँमा हुने गरेको देखाउँछ। तर, चाडपर्वको उत्साहसँगै खर्चमा केही संयमता अपनाउन सकियो भने त्यसबाट जोगिएको रकमलाई भविष्य निर्माणका लागि लगानी गर्न पनि सकिन्छ। अझ दसैँमा प्राप्त हुने दक्षिणाको रकमलाई बचत तथा लगानीमा लगाउने हो भने सानो रकम पनि दीर्घकालमा ठुलो पुँजी निर्माणको आधार बन्न सक्छ। 

यसका लागि शेयर बजार एउटा विकल्प बन्न सक्छ। सानो रकमबाट लगानी सुरु गर्न सकिने भएकाले शेयर बजारमा प्रवेश गर्न ठुलो पुँजी आवश्यक पर्दैन। तर, प्रतिफलको सम्भावनासँगै जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले लगानी गर्नुअघि बजारको सामान्य तथा आधारभूत ज्ञान हासिल गर्नु, कम्पनीको वित्तीय अवस्था र सम्भावनाबारे अध्ययन गर्नु तथा आफ्नो जोखिम वहन क्षमताअनुसार निर्णय गर्नु आवश्यक छ।

दसैँपछि नै १ सयभन्दा बढी कम्पनीका आईपीओ बजारमा आउने तयारीमा छन्। यीमध्ये धेरैमा न्यूनतम १ हजार रुपैयाँमै लगानी सुरु गर्न सकिन्छ। आईपीओलाई शेयर बजारमा प्रवेश गर्ने सहज माध्यमका रूपमा लिन सकिए पनि त्यसलाई पनि ‘छिटो नाफा कमाउने’ साधनका रूपमा भने बुझ्न मिल्दैन। दसैँमा प्राप्त दक्षिणाको केही हिस्सा तत्कालको मनोरञ्जन वा अनावश्यक खर्चमा सक्नुको सट्टा बचत र लगानीका लागि छुट्याउन सकिन्छ। 

उदाहरणका लागि, दक्षिणाबाट प्राप्त रकममध्ये आफ्नो आवश्यकताअनुसार केही हिस्सा खर्च गर्ने र बाँकी रकम बचत वा लगानीमा राख्ने बानीले आर्थिक अनुशासनको समेत विकास गर्न सहयोग पुर्याउछ। यसैले, दसैँलाई खर्चिलो पर्वका रूपमा नभई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा पनि हेर्न सकिन्छ। अनावश्यक खर्च घटाएर सानो रकमदेखि सुरु गरिने लगानीले भविष्यमा ठुलो पुँजी निर्माण गर्ने बाटो खोल्नेछ। त्यसैले यस पटकको दसैँमा भविष्यका लागि लगानी गर्ने संस्कार पनि सुरु गरौँ।