काठमाडौं – सप्तकोशी नदीमा यात्रु बोकेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन्य यात्रु घाइते भएका छन्। आइतबार दिउँसो भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको हो। दिउँसो करिब १ः३० देखि २ बजेको बीचमा धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर खडकाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा तीन जना बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको उनले बताए।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डीएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डीएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक जानकारीअनुसार जेटबोट चलिरहेका बेला इन्जिन बन्द भएपछि दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ।







About Us
प्रतिक्रिया