यसपालीको दसैँमा नयाँ नोट पाइने


काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट दिने भएको छ । केन्द्रीय बैंकले नियमित नोट सटही सुविधामा नयाँ नोट वितरण गरिरहेको छ । यही समयमा नेपालीहरूको महान चाड बडादसैँ समेत परेकाले सर्वसाधारणले दसैँमा नयाँ नोट साट्न पाउने भएका हुन् ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार दशैंलाई लक्षित गरेर नभई आवश्यकता र औचित्यको आधारमा केन्द्रीय बैंकले नयाँ नोट वितरण गरेको हो । उनकाअनुसार राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई पनि नयाँ नोट र सुकिला नोट दुवै उपलब्ध गराएको छ ।

अहिले राष्ट्र बैंकले नयाँ नोट र सुकिला नोट दुवै प्रकृतिका नोटहरू सटही गरिरहेको छ । नयाँ नोट आवश्यक हुनेलाई नयाँ र सुकिला आवश्यक हुनेलाई सुकिला नोट दिइरहेको उनले जानकारी दिए । ‘राष्ट्र बैंकले नियमित कामको रूपमा नै नोट सटहीको काम गरिरहेको छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘यही क्रममा दशैंलाई लक्षित गरेर भन्दा पनि नियमित कामको रूपमा अहिले नयाँ नोट दिइरहेका छौं ।’

गत वर्ष भने केन्द्रीय बैंकले नयाँ नोट सटही सुविधा दिएको थिएन । यसको साटो केन्द्रीय बैंकले सुकिला नोट प्रचलनमा ल्याएको थियो ।