काठमाडौं – नबिल बैंकले चिनियाँ बैंक चाइना एभरब्राइटलाई मुद्दा हाल्ने तयारी गरेको छ। बैंकले बैंकले चीनको चाइना एभरब्राइट बैंक र चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपविरुद्धको मुद्दा जितेर १ अर्ब रुपैयाँभन्दा बढी फिर्ता ल्याएको थियो। सो मुद्दा जितेपछि चाइना एभरब्राइटलाई अर्को मुद्दा दायर गर्ने तयारी नबिलले अघि बढाएको हो।
चीनको चाइना एभरब्राइट बैंकले जारी गरेको काउन्टर ग्यारेन्टी बापत रकम भुक्तानी गर्न चीनको अदालतले आदेश दिएपछि ‘काउन्टर ग्यारेन्टी’ बापत १ अर्ब ८ करोड फिर्ता पाएको हो। नेपाल विद्युत् प्राधिकरणको ३० प्रतिशत र नेपाल टेलिकमको ३० प्रतिशत शेयर सहित स्थापना भएको त्रिशूली जलविद्युत् कम्पनीले आयोजना निर्माण तीन वर्षमा सक्ने गरी सुइफासँग २०७४ फागुन ३० मा ठेक्का सम्झौता गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणले गरेको ठेक्का ‘बिड’मा चिनियाँ कम्पनी त्रिशूली थ्रीबी बनाउन आएको थियो। तर, कम्पनीले लक्ष्य र सम्झौताअनुसार काम अघि बढाउन सकेन। यता, रुस युक्रेन युद्ध विकराल बनेपछि ‘कमोडिटि’ र निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि निर्माण कम्पनी थप आर्थिक समस्यामा परेको थियो। आयोजना निर्माणमा समस्या बढ्दै गएपछि चिनियाँ कम्पनी सुइफा भागेर चीन गयो।
३७ मेगावाट क्षमताको त्रिशूली थ्री–बी आयोजनाको ठेक्का लिएको कम्पनी भागेपछि २०८० मंसिरमा ठेक्का तोडिएको थियो। सो आयोजना निर्माणमा ठेक्का लगाउनुअघि नेपाल विद्युत् प्राधिकरणसँग नबिल बैंकले ७.४५ मिलियन अमेरिकी डलरको ‘काउन्टर ग्यारेन्टी’ राखेको थियो। यसका लागि नबिल बैंकलाई चिनियाँ बैंक एभरब्राइट काउन्टर ग्यारेन्टी बसेको थियो। तर, निर्माणको काम रोकेर चिनियाँ कम्पनी भागेपछि प्राधिकरणले नबिल बैंकसँग काउन्टर ग्यारेन्टीबापतको लिएपछि चिनियाँ पक्षले सो बापतको रकम भुक्तानी गर्न आनाकानी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।
चाइना एभरब्राइट बैंकमा नबिल बैंकका प्रतिनिधिले छलफल गरेपछि विना सर्त काउन्टर ग्यारेन्टीबापतको रकम दिन तयार भएपनि निर्माण कम्पनी सुईफाले चीनको ‘फाइनान्सियल कोर्ट’ मा मुद्दा हाल्यो। कम्पनीको मुद्दा पर्न साथ अदालतबाट ‘स्टे अर्डर’ ल्यायो। त्यसपछि चाइना एभरब्राइट नबिल बैंकलाई पैसा दिन तयार हुँदाहुँदै पनि मुद्दा लड्न पर्यो। चिनियाँ अदालतमा मुद्दा परेपछि नबिल बैंक चीन गयो र मुद्दा लड्यो। र आफ्नो पैसा फिर्ता ल्यायो ।
नबिलले चीनमा चिनियाँ निर्माण कम्पनी सुईफासँग १ अर्ब बढीको मुद्दा जितेपछि ‘प्रोभिजन’ मा राखेको रकमबाट ‘रिकभर’ गरेर कर र कर्मचारी खर्च कटाउँदा ६३ करोड नाफामा जोडिसकेको छ। १ अर्ब रुपैयाँभन्दा बढी रकमको काउन्टर ग्यारेन्टि राखेकोमा बैंकको ‘ब्यालेन्ससिट’मा ६३ करोड रुपैयाँ हाराहारी मात्रै जोडियो। १ अर्बकै मुद्दा जितेपनि ‘लयर फि’ लगायत कारणले ४५ करोड खर्च भयो र सबै रकम ब्यालेन्स सिटमा जोडिन पाएन। यसबाहेक, ब्याज घाटा लगायतको हिसाब छुट्टै छ।
बैंककाअनुसार करिब १ अर्ब ८ करोड रुपैयाँ फिर्ता आए पनि मुद्दा लड्ने क्रममा करिब ४५ करोड रुपैयाँ खर्च भएको छ। यही खर्चलाई अब बैंकले अर्को मुद्धामार्फत असुल गर्ने तयारी गरेको हो। मुद्दा लड्दा बैंकको खर्च भएको कारण नै बैंकले चाइना एभरब्राइटलाई मुद्दा दर्ता गर्ने तयारी गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) आदर्श बजगााईले बैंकिङ्ग समाचारलाई बताए। ‘लिगल कस्ट’को कम्पेनसेसन र ‘इन्ट्रेस्ट लस्ट’ रिकभर गर्नुपर्छ।’ उनले भने, ‘किनकि त्यो रकम सर्वसाधारणको हो। यही भएर चीनमा फेरी मुद्दा लड्ने तयारीमा छौँ। छिट्टै दायर गर्छौँ होला।’
नबिलले यस पटक निर्माण कम्पनी सुइफालाई नभई चाइना एभरब्राइट बैंकलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने भएको छ। नबिल बैंक अबको एक दुई महिनामा मुद्दा दायर गर्ने गरी अघि बढिरहेको उनले डिसीईओ बजगाईँले बताए। नबिलले मुद्दा लड्दा भएको खर्च आफ्नो मात्रै विषय नभएको बताउँदै सर्वसाधारणको निक्षेपबाट बनेको बैंकको सम्पत्तिलाई अनावश्यक खर्चमा जान नदिने बताएको छ।
बैंकले दोस्रो चरणको यस मुद्दाबाट पहिलाको रकम फिर्ता ल्याउने क्रममा भएको खर्च तथा क्षतिपूर्ति माग गर्ने भएको हो। नबिलले फेरि एभरब्राइट बैंकविरुद्ध मुद्दा दायर गर्ने भएपछि त्रिशूली थ्री–बी आयोजनाको ठेक्का विवादबाट सुरु भएको नबिल बैंक, सुइफा र चाइना एभरब्राइटबिचको कानुनी विवाद अझै अपूर्ण अवस्थामा रहेको प्रस्ट भएको छ। पहिलो चरणमा काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता ल्याउन सफल भएको नबिलले अब त्यस क्रममा भएको खर्चको क्षतिपूर्तिका लागि एभरब्राइटविरुद्ध अर्को कानुनी लडाइँ सुरु गर्ने भएको हो।






About Us
प्रतिक्रिया