नेपाल विद्युत् प्राधिकरण

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् कटौती गरिने

'बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुने'


काठमाडौं – उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती गरिने भएको छ। भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आउँदो हिउँदको बिजुली माग व्यवस्थापनका निम्ति आवश्यक कार्य गर्न आपूर्ति कटौती गर्न लागिएको हो।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका निम्ति असोज १५ (आज)देखि २६ गतेसम्म विभिन्न स्थानमा बिजुली आपूर्ति कटौती गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सम्बन्धित क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याइने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ। असोज १५ गते सतुंगल बौथली क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने प्राधिकरणले जनाएको छ।

असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक क्षेत्र, असोज १७ गते मूलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मूलपानी क्षेत्रमा बिजुली आपूर्ति कटौती गरिनेछ। यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरि आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइनको काम गरिने प्राधिकरणले जनाएको छ।