काठमाडौं – ३५–३६ जनाको सिटमा १६–१७ जना मात्रै उत्तीर्ण भएपछि प्रहरी स्टाफ कलेजको कोर्स परिमार्जन गर्न लगिएको छ। जसका लागि नायव महानिरीक्षक (डीआईजी) विश्व अधिकारीको नेतृत्वमा सात जनाको समिति गठन गरेर प्रहरीले स्टाफ कोर्शको कोर्स परिमार्जन प्रक्रिया अघि बढाएको हो।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार समितिले पाठ्यक्रमको समग्र अध्ययन गरी आवश्यक परिमार्जनका विषयमा सुझाव दिनेछ। उनका अनुसार अध्ययन टोलीले हालको पाठ्यक्रमको औचित्य, प्रहरी अधिकृतको करियरमा त्यसको प्रभाव तथा प्रहरी संगठनमा आवश्यक जनशक्ति व्यवस्थापनलगायतका विषयलाई समेत अध्ययन गर्नेछ।

प्रहरी स्टाफ कलेजमा सञ्चालन हुने विभिन्न कोर्समा सहभागी हुने तथा उत्तीर्ण हुने संख्या कम हुँदै गएको विषयलाई पनि अध्ययन टोलीले प्राथमिकतामा राखेको हो। हालको अवस्थामा कोर्समा पास हुने संख्या कम भइरहेको छ। प्रहरी स्टाफ कलेजको कोर्सका लागि उपलब्ध कोटामध्ये हालसम्म १६– १७ जना मात्र उत्तीर्ण हुने अवस्था देखिएको भन्दै त्यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्ययन पनि भइरहेको छ।
निरीक्षकहरू (प्रशिक्षणको १५८ तथा पिजी सातौँ ब्याच) बाट १७ जना डीएसपी प्रवेश परीक्षामार्फत छनोट भएका थिए। स्टाफ कलेजमा सहभागी १७ मध्येबाट आईजीपी बन्ने व्यवस्था पनि गरिएको थियो। टोलीले पाठ्यक्रमलाई प्रहरी संगठनको आवश्यकता, अधिकृतको व्यावसायिक विकास तथा करियरसँग जोडेर अध्ययन गर्नेछ। अध्ययनपछि प्राप्त सुझावका आधारमा प्रहरी स्टाफ कलेजको पाठ्यक्रममा आवश्यक सुधार तथा परिमार्जन गर्ने प्रहरीको तयारी छ।
त्यस्तै, प्रहरी स्टाफ कलेजको स्थापना हुँदाका महानिरीक्षक दीपक थापाका अनुसार प्रहरी स्टाफ कलेजको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ। उनले कलेज स्थापनाका क्रममा तत्कालीन आवश्यकता र परिस्थितिलाई आधार बनाएर पाठ्यक्रम तयार गरिएकाले समय क्रमसँगै त्यसमा आवश्यक परिवर्तन स्वाभाविक हुने बताए। थापाले कलेजको पाठ्यक्रम दुई वर्षको अवधिमा दुई वटा ब्याच सञ्चालन भइसकेपछि त्यसको सान्दर्भिकता पुनरावलोकन गरी परिमार्जन गर्न खोजिएको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

नेपाल प्रहरी संगठन स्थापना भएको ७० वर्षपछि २०८१ चैतमा प्रहरीको आफ्नै स्टाफ कलेज स्थापना भएको थियो। यो स्टाफ कलेज स्थापनाका लागि गरिएको लविइङको २० वर्षपछि सम्भव भएको थियो। नेपाली सेना र सशस्त्र प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेका बेला नेपाल प्रहरीले भने कहिले सेना र कहिले सशस्त्र प्रहरीको भर गर्दै आएको थियो। गृहमन्त्रीमा रमेश लेखक हुँदा प्रहरी स्टाफ कलेजको स्थापना गरिएको थियो। स्थापना गरिएको २ वर्ष पुरा नहुँदै कोर्सको परिमार्जन गर्न लागिएको छ।
निवर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो कार्यकालमा जसरी पनि यसलाई लागू गर्ने बताउँदै एक वर्षदेखि गृहकार्यमा लागेका थिए। तर, उनको कार्यकालमा उक्त स्टाफ कलेजको स्थापना हुन सकेको थिएन । प्रहरी स्टाफ कलेज प्रहरी संगठनमा कार्यरत जनशक्तिको व्यावसायिक ज्ञान, सीप तथा नेतृत्व क्षमता विकासका लागि महत्त्वपूर्ण संस्था हो। नेपालमा विगतदेखि नै गठित विभिन्न प्रहरी सुधार सुझाव आयोगहरूले समेत प्रहरी स्टाफ कलेजको आवश्यकता औँल्याउँदै आएका थिए।
विगतमा सञ्चालन हुँदै आएको पोस्ट ग्राजुएट डिप्लोमा कार्यक्रमलाई मास्टर डिग्री तहमा लैजानका लागि स्टाफ कलेज सञ्चालन गरिएको थियो। लामो समयसम्म डिप्लोमा तहकै कार्यक्रम सञ्चालन हुँदा त्यसको शैक्षिक तथा व्यावसायिक प्रभावकारितामाथि प्रश्न उठ्छ। प्रहरी स्टाफ कलेजलाई एमपीएस गरेर मास्टर डिग्री इन पुलिस साइन्सका रूपमा अगाडि बढाउने लक्ष्यसहित कोर्स परिमार्जन हुन लागेको हो।






About Us
प्रतिक्रिया