टेकु अस्पतालमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ


काठमाडौं – ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की तथा हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज गर्नुका साथै धाकधम्की र हातपातसमेत गरेका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली अस्पताल पुगेको थियो। प्रहरीले घटनास्थलमा जाँच गर्दा उनीहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको पाइएपछि तीनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।