दसैंमा किन बढ्छ ठगी, लुटपाट र चोरी ?


काठमाडौं – चाडपर्व सुरु भएसँगै चोरी, डकैती, लुटपाट, ठगी, पाकेट मारी, जुवा तास जस्ता आपराधिक गतिविधिको जोखिम बढ्ने गरेको छ। दसैंको बेलामा मानिसको आवतजावत र आर्थिक कारोबार बढ्ने भएकाले यही समयलाई लक्षित गरी आपराधिक क्रियाकलाप बढी हुने गरेको प्रहरी बताउँछन्। गत वर्ष दसैंमा मात्रै प्रहरीमा ९६० वटा मुद्दा दर्ता भएका थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार दसैंको समयमा आर्थिक गतिविधि बढ्ने भएकाले चोरी, ठगी तथा लुटपाटका घटना बढ्न सक्ने जोखिम रहन्छ। दसैंमा मानिसहरू किनमेलका लागि ठुलो रकम बोकेर हिँड्ने तथा नगद कारोबार बढ्ने भएकाले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूले त्यसको फाइदा उठाउन सक्ने उनी बताउँछन्।

दसैंको समयमा विभिन्न आकर्षक उपहार तथा छुटको प्रलोभन देखाएर नक्कली अनलाइन सपिङ्ग, अनलाइन ठगी, बैंकिङ्ग ठगी तथा फिसिङ्ग जस्ता डिजिटल आपराधिक गतिविधि बढ्न सक्ने जोखिम छ। दसैंलाई लक्षित गरी ठगीमा संलग्न व्यक्तिहरूले सामाजिक सञ्जाल, एसएमएस तथा फोनमार्फत आकर्षक उपहार वा अफरको प्रलोभन देखाउने प्रयास गर्छन्। त्यसक्रममा ओटिपि, पिन, पासवर्ड तथा बैंकिङ्ग विवरण मागेर रकम चोरी गर्ने प्रयास हुन सक्ने प्रहरीले बताएको छ।

त्यसैले आफ्नो घर लामो समय खाली छाड्नुपरेमा छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ। साथै, यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल तथा लामो समयका लागि घर छाडेर बाहिर जाने व्यक्तिका घरमा समेत निगरानी बढाउने योजना बनाइएको उनले बताए। दसैंमा भिडभाड हुने बजार, सार्वजनिक यातायात, मेला तथा किनमेलका स्थानमा पाकेटमारी र चोरीको जोखिम बढी हुने गर्छ।

त्यस्तै, दसैंमा जुवा तथा लङ्गुर बुर्जा खेल्ने गतिविधि पनि बढी हुन्छ। मनोरञ्जनका नाममा सुरु हुने यस्ता गतिविधि आर्थिक विवाद, झैझगडा तथा अन्य आपराधिक घटनाको कारण बन्न सक्ने भएकाले प्रहरीले विशेष निगरानी बढाउने गरेको छ। पछिल्लो समय अनलाइन सपिङका नाममा हुने ठगी पनि दसैंको अर्को चुनौतीको रूपमा देखा पर्ने गरेको छ। दसैं मनाउन सहर बजारका क्षेत्रमा जागिर र शिक्षाका लागि बसोबास गर्दै आइरहेका प्राय सबै आफ्नो स्थायी घर तथा गाउँ जाने गर्छन्।

यसपालिको दसैंमा पनि १० लाख बढीले उपत्यका छाड्ने बताइएको छ। घर जाने बेलामा सर्वसाधारणले आफू गाउँ जान लागेको फोटो भिडियो सामाजिक सञ्जालमा राख्ने गर्छन्। जसले गर्दा आपराधिक मानसिकता बोकेका व्यक्तिलाई चोरी गर्न योजना बनाउन झनै सहज हुन्छ। कतिपयले सामाजिक सञ्जालमा कति दिनका लागि गाउँ जान लागेको सम्म बताउने गर्छन्। जसले आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई चोरी गर्न मौका मिल्छ। गत वर्षको दसैंमा मात्रै ६८ वटा चोरीसम्बन्धी घटनाका उजुरी प्रहरीमा परेको थियो।

दसैंमा घर फर्किने यात्रुको चाप बढ्ने भएकाले नक्कली टिकट बिक्री गर्ने वा टिकटको नाममा बढी रकम असुल्ने ठगीसमेत हुन सक्ने देखिन्छ। यस्तै, चाडपर्वको भिडभाडको फाइदा उठाउँदै नक्कली नोट चलाउने तथा सुनचाँदी र गरगहनामा समेत ठगी हुने जोखिम रहन्छ। गत वर्षको दसैंका बेला सर्वसाधारणलाई विभिन्न माध्यमबाट ठगी गरेका घटनाका १० वटा उजुरी दर्ता भएको थियो। 

विगतका घटनाको विश्लेषण तथा सम्भावित सुरक्षा चुनौतीबारे सूचना संकलन गरी घटना न्यूनीकरणका लागि कार्य योजना तयार गरिएको छ। दसैंका बेला हुने चोरी, लुटपाट, आर्थिक अपराध तथा ठगीका घटनालाई लक्षित गरी प्रहरी परिचालन गरिएको छ। बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउन तथा कालोबजारीलगायतका गतिविधि नियन्त्रण गर्न पनि सुरक्षा योजनामा विशेष व्यवस्था गरिएको छ।

अनलाइन स्क्यामरको बिगबिगी
पछिल्ला वर्षहरू अनलाइन बैंकिङ्गको कारोबार बढ्दै गइरहेकाले गर्दा अनलाइन ठगीको घटनाहरू पनि बढी रहेका छन्। साथै, ठगहरूले चाडपर्वलाई ठगी गर्ने अवसरका रूपमा प्रयोग गरी सर्वसाधारणलाई नयाँ तरिकाहरू अपनाएर ठग्ने गर्छन्। विशेष गरी अनलाइन किनमेलका नाममा सस्तो मूल्यमा सामान उपलब्ध गराउने भन्दै रकम लिएर सामान नपठाउने घटना हुने गरेका छन्। त्यस्तै, सामाजिक सञ्जालमार्फत नक्कली अफर तथा उपहारको प्रलोभन देखाएर रकम असुल्ने, ‘दसैं उपहार परेको’ भन्दै कर वा शुल्कका नाममा पैसा माग्ने तथा बैंक वा डिजिटल वालेटका कर्मचारी बनेर पासवर्ड, ओटिपीलगायत गोप्य विवरण माग्ने प्रवृत्ति पनि देखिने गरेको छ।

जुवा तास खेल्ने पनि बढ्छन्
दसैंको बिदा सुरु भएसँगै परिवार तथा साथीभाइसँग भेटघाट भए पछि यही अवसरमा कतिपयले भने जुवा तास खेलेर बिताउने गर्छन्। दसैंमा लामो बिदा हुने भएकाले घरपरिवार तथा आफन्तसँग जमघट हुने र तास खेल्ने चलन रहेको छ। कतिपय स्थानमा मनोरञ्जनका लागि तास खेल्ने गरिए पनि पैसाको हारजित हुने गरी जुवा खेल्ने प्रवृत्तिले भने समस्या निम्त्याउने गरेको छ। गत वर्षको दसैंमा जुवा खेल्ने वा खेलाउनेविरुद्धको कसुरमा १० वटा मुद्दा परेको थियो। 

दसैंमा सबैभन्दा बढी तास खेल्ने चलन रहेको छ। जुवा तास खेल्दा मानिसले छोटो समयमै आफ्नो ठुलो सम्पत्ति र पैसा गुमाउन सक्छन्, जसले गर्दा कतिपय व्यक्तिहरू ऋणमा डुब्ने गर्छन्। यो हारजितको खेल भएकाले खेलको क्रममा विवाद, रिस राग र आपसी झगडा हुने सम्भावना उच्च हुन्छ। लगातार हार्दा मानिस मानसिक तनाव र डिप्रेसनको सिकार हुन सक्छन्। साथै, नेपालको कानुन अनुसार पैसाको बाजी थापेर जुवाको रूपमा तास खेल्नु गैर कानुनी मानिन्छ। जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेमा तीन महिनादेखि १ वर्ष सम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुन सक्छ।