काठमाडौं । हानिनोक्सानी कोषले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। नेपाली रुपैयाँमा यो रकम करिब ३ अर्ब हुन्छ। सन् २०२६ अक्टोबर २२ मा बसेको कोषको बोर्डको विशेष बैठकले यो निर्णय गरेको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको जलवायुजन्य बाढीमा परी करिब १,५०० जनाले ज्यान गुमाएका छन्। ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। करिब १५ हजार परिवारका ६० हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक विवरण छ।
बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २.७ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ। पुनर्निर्माणका लागि करिब ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। गैर–आर्थिक क्षतिको विस्तृत आकलनका लागि मन्त्रालयले अध्ययन अघि बढाएको छ।
गत अगस्त ३१ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेका थिए। त्यसपछि विकासशील र विकसित राष्ट्रको प्रतिनिधित्व गर्ने बोर्ड सदस्यबीच औपचारिक र अनौपचारिक छलफल भयो। सेप्टेम्बर २ मा आठ बोर्ड सदस्य र छ वैकल्पिक सदस्यले संयुक्त रूपमा हस्ताक्षर गरी विशेष बैठक बोलाउन सह–अध्यक्षलाई अनुरोध गरेका थिए।
रकम कसरी आउँछ ?
बोर्डको निर्णयअनुसार कोषमा उपलब्ध रकमबाट २१.६ मिलियन अमेरिकी डलर छुट्ट्याइनेछ। हाल प्रचलनमा रहेको बार्बाडोस कार्यान्वयन मोडालिटी बाहिर रहेर नेपालले भोटेकोशी क्षेत्रको बाढी सम्बोधन गर्ने परियोजनाका लागि छुट्टै आयोजना प्रस्ताव राष्ट्रिय सम्पर्क अधिकृत मार्फत पेश गर्नुपर्नेछ।
सचिवालयले उपलब्ध गराएको कार्यविधिका आधारमा नेपालले फिल्डमा अत्यावश्यक जलवायु कार्यक्रम सञ्चालनका लागि प्रस्ताव तयार गरी पेश गर्नुपर्नेछ।






About Us
प्रतिक्रिया