नेपाली समाजका अधिकांश परिवार यस्ता छन्, जो अघिल्लो पुस्ताले गरेको कामलाई नै निरन्तरता दिन रुचाउँछन् । डाक्टरको छोरा डाक्टर नै बन्नुपर्छ, किसानको छोराछोरीले कृषि नै गर्नुपर्छ, सुनारको छोराले सुनकै काम गर्नुपर्छ र पुरोहितको छोराले पण्डित्याइँ नै गर्नुपर्छ भन्ने मान्यता अझै पनि कतिपय अवस्थामा विद्यमान छ । नेपालीमा समाजमा यस्ता कुराहरू सामाजिक नियमकै रूपमा प्रचलित छन् ।
तर, अधिकांशले भने अघिल्लो पुस्ताले वा भनौँ परिवारले नै नगरेको काम गर्न रुचाउँछन् । जसको ज्वलन्त उदाहरण हुन्, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरि बहादुर बुढाथोकी । हरिले पोखरामा नै बाल्यकाल बिताए । सानोमा उनी बिहान बेलुका आमा बुबालाई काममा सहयोग गर्ने गर्थे भने समय मिलाएर साथीभाइसँग विभिन्न खेलहरू खेल्ने गर्थे । उनी सानैदेखि खेलकुदमा रुचि राख्ने गर्थे । ‘अहिलेको जस्तो बलहरू पनि पाइँदैनथ्यो’ बाल्यकाल सम्झिँदै उनी भन्छन्, ‘कपडाको बलहरू बोकेर खेततिर लाग्थ्यौँ ।’
बुढाथोकीले पोखराको रत्नसाेभा माविमा ८ कक्षासम्म पढे । त्यसपछि एसएलसी भने उनले पोखराकै विद्यालयबाट उर्तीण गरे । हाल उनको परिवारमा आमाबुबा र छोराछोरीसहित ६ जना छन् । उनी सानोमा पढाइलाई नै भनेर समय भने छुट्याउँदैनथे। पढाइमा बढी चासो नदिएपनि उनले असफलता भने अहिलेसम्म बेहोर्नु परेको छैन । उनले आईकम विकम पनि पोखरा मै सक्काएर काठमाडौं छिरे र शंकरदेव क्याम्पसमा मास्टर्स पढ्न भर्ना भए ।
बिहे पनि सोही समयमा गरेका उनले कामको पनि अवसर मिल्ने लक्ष्यसहित काठमाडौं प्रवेश गरेका थिए । तर, काठमाडौंमा रोजगारी नपाएपछि पोखरा नै फर्किए । त्यति बेला उनकाे छोरा पनि जन्मिसकेको थियो । उनले काठमाडौंमा खास चुनौती भने सामना गर्नु परेन । उनलाई काठमाडौंमा बस्न पढ्न त खासै गाह्रो भएन । परिवार आर्थिक रूपले सक्षम भएकाले बस्न पढ्न गाह्रो नभएपनि आफूले पनि केही गर्नुपर्छ भन्ने हुटहुटीले मानसिक रूपमा भने तनाव सिर्जना भएको उनी बताउँछन् ।
शिक्षक हुँदै बैंकर
उनको पारिवारिक पृष्ठभूमि हेर्ने हो भने अधिकांश आफन्त सेना/प्रहरीमा आबद्ध थिए । उनलाई पनि सानोमा सेना नै बन्ने हुटहुटी समेत थियो । तर, सेना बन्ने लक्ष्य राखेपनि सोचेजस्तो नभएपछि जसोतसो पढाइलाई निरन्तरता दिँदै पोखराबाट विकम सकेर काठमाडौं छिरेका थिए । शंकरदेवमा स्नातकोत्तर सकेर कामको खोजी गरेपनि नपाएपछि पोखरा नै फर्किने निर्णय उनको थियो । जुन, ‘करियर’को ‘टर्निङ्ग प्वाइन्ट’ नै बन्यो ।
स्नातकोत्तर सकेर पोखरामा फर्किन साथ बुढाथोकीले अध्यापन पेशा अँगाले । अध्यापन पेसासँगै फाट्टफुट्टरुपमा विभिन्न कम्पनीहरूसँग समेत आबद्ध भएर अनुभव सँगालेको बैंकिङ्ग समाचारसँग उनी बताउँछन् । ‘सोही समयमा पोखरामा नै केन्द्रीय कार्यालय हुने गरी तत्कालीन कामना विकास बैंक स्थापना भयो,’ उनले भने, ‘विद्यालयमा पढाउने भएकाले मैले राम्रो साथीभाइको सर्कल बनाइसकेको थिए ।’ पोखरामा बैंक स्थापनाको कुरा सुनेपछि बैंकर बन्ने रहर जागेपछि २०६६ सालमा बैंकमा जागिर सुरु गरे ।

आफ्ना सबै साथीहरूले बैंकिङ्ग क्षेत्रमा काम गरेको देख्दा पनि आफूलाई बैंकमा नै काम गर्नुपर्छ भन्ने सोचको विकास भएको थियो । ‘साथीभाइहरू टाई सुटमा हिँडेको देख्दा बैंकमा जागिर गर्नुपर्छ भन्ने लाग्यो,’ पुराना दिन सुनाउँदै भन्छन्, ‘बैंकमा मैले करिअर ग्रोथका लागि पनि अवसर देखेका थिए ।’ बैंकमा आबद्ध भएको केही समयसम्म पनि अध्यापन पेशा नछाडेका उनले बैंकको कामले व्यस्तता बढ्न थालेपछि भने पढाउन छाडे ।
बुढाथोकी अफिसर लेभलबाट बैंकिङ्ग क्षेत्र प्रवेश गरेको केही समयपछि नै कामना सेवा विकास बैंक मर्जरमा गयो र राष्ट्रिय स्तरको विकास बैंक बन्यो । बैंक राष्ट्रियस्तरको बनेपछि केन्द्रीय कार्यालय काठमाडौंमा सर्यो र यससँगै पोखरामा जन्मे हुर्केका बुढाथोकीलाई दोस्रोपटक काठमाडौं छिर्ने रहर चलेन । अध्ययनका क्रममा नै काठमाडौंसँग अघाएका उनी दोस्रो पटक नआउनकै लागि बैंकको जागिर छाडे र ग्रीन डेभलपमेन्ट बैंकमा जोडिए ।
ग्रीन बैंक प्रवेश गर्दै गर्दा बुढाथोकीले प्रमुख कार्यकारी अधिकृत नै बन्ने योजना बुनेका थिए र बने पनि । कामना सेवाको आकर्षक तलब सेवा सुविधा छाडेर ग्रीन डेभलपमेन्टसँग जाेडिएका बुढाथोकी र बैंक दुवैका लागि दिर्घकालमा फाइदाजनक देखियो । किनभने, ग्रीन डेभलपमेन्ट बैंकमा उनको प्रवेशसँगै कम्पनीले विभिन्न सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्न थालेको थियो । बैंक छिरेको छोटो समयमा नै नेतृत्वदायी भूमिकामा पुग्न सफल बनेसँगै उनलाई बैंकर बनेकोमा कुनै पछुतो छैन ।
राष्ट्रियस्तरको विकास बैंकमा काम गर्ने चाहना छाडेर क्षेत्रीयस्तरको विकास बैंकको नेतृत्व सम्हालेपनि उनमा अझै एउटा चाहना र उद्देश्य बाँकी छ । र, त्यो हो राष्ट्रियस्तरको विकास बैंकको नेतृत्वमा पुग्ने । यसका लागि ग्रीन डेभलपमेन्ट बैंकलाई नै राष्ट्रियस्तरको विकास बैंकमा परिणत गर्ने ‘मास्टरप्लान’ समेत बोकेका छन् । ‘जे होस्, कम्तीमा एक पटक राष्ट्रियस्तरको विकास बैंकको प्रमुख बन्छु’ उनले भने ।

उत्कृष्ट बैंकर बन्न अनिवार्य तालिम
हरिको अनुभवमा एक उत्कृष्ट बैंकर बन्न तालिम निकै आवश्यक रहन्छ । बैंकरहरुले आफ्नो क्षमता अभिवृद्धिका लागी तालिमहरू लिन आवश्यक रहेको बताउँछन् । उनले पनि विभिन्न तालिमहरू लिएका छन् । उनी अहिले यो तहसम्म आउन पनि तालिमहरूको योगदान रहेको बताउँछन् । बैंकको जागिरमा अन्य क्षेत्रमाभन्दा बढी समय दिनुपर्ने बताउँछन् उनी ।
बैंकमा केही समय बढी दिनुपर्ने भएकाले पछिल्लो समयमा बैंकको जागिर कठिन बन्दै गइरहेको छ । बैंकहरुको जोखिम बढ्दै जाँदा पनि समय व्यवस्थापनमा चुनौती सामना गर्नु परिरहेको अनुभव उनले संगालेका छन् । उनी बैंकमा आबद्ध भएर काम गर्दा निकै सन्तृष्ट रहेको बताउँछन् । उनले बैंकमा काम गर्दै आउँदा सामाजिक प्रतिष्ठा र आर्थिक पक्षलाई उत्तिकै सफलताको दृष्टिले हेर्दै आइरहेका छन् ।
उनले बैंकिङ्ग क्षेत्र काम गर्ने हिसाबले राम्रो क्षेत्र भएपनि विविध पक्षमा चुनौती भने रहेको बताए । उनले बैंकिङ्ग क्षेत्रमा आउने नयाँ पीढिलाई अध्ययन गर्ने बानी राख्नुपर्ने बताए । बैंकिङ्ग क्षेत्र करिअर ग्रोथको लागि राम्रो क्षेत्र रहेकाले पनि नेपालमै बसेर केही गर्छु भन्नेका लागि राम्रो क्षेत्र रहेको बताए ।





About Us
प्रतिक्रिया