काठमाडौं – नेपालको व्यावसायिक इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको मुद्दा अदालतमा गएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनपछि बिहीबार एकैदिन तीनवटा छुट्टाछुट्टै अदालतमा कुल ८६ जना प्रतिवादी विरुद्ध अर्बौँको बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
यो घोटालाको मुख्य योजनाकार र अभियुक्तका रूपमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवालसहित उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाललाई उभ्याइएको छ। भट्ट र सुलभ अग्रवाल चैत महिनादेखि नै प्रहरी हिरासतमा छन् भने उनीहरूको बैंक खाता पूर्ण रूपमा रोक्का गरिएको छ। उनीहरू विरुद्ध राज्यको वित्तीय प्रणाली, शेयर बजार र बीमा क्षेत्रलाई योजनाबद्ध रूपले ध्वस्त पारेको गम्भीर आरोप लगाइएको छ। यस संगठित आर्थिक अपराधको सञ्जाल कतिसम्म डरलाग्दो छ भने जिल्ला अदालत काठमाडौंमा धितोपत्र कसुरमा ८१ जना र बिमा कसुरमा ४२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अर्बौँको बिगो दाबी गरेको छ।
जसमा बीमा ऐनअन्तर्गतको कसुरमा ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २७ रुपैयाँ र धितोपत्र ऐनबमोजिमको कसुरमा १ अर्ब १४ करोड ८६ लाख ९ हजार ९ सय रुपैयाँ बिगो माग गरिएको छ। अझ अचम्मलाग्दो तथ्याङ्क विशेष अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा देखिन्छ, जहाँ ३४ जना व्यक्ति र ५ वटा कम्पनीसहित ३९ प्रतिवादी विरुद्ध मुद्दा दर्ता गर्दै दीपक भट्टसँग २६ अर्ब ६३ करोड २७ लाखभन्दा बढी र सुलभ अग्रवालसँग २५ अर्ब ५९ करोड २० लाखभन्दा बढीको विशाल बिगो दाबी गरिएको छ। सोही मुद्दामा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासँग पनि ५२ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ, जो वैशाख महिनामा पक्राउ परेर हाल हाजिरी जमानीमा छुटेका छन्।
यो वित्तीय अपराधको रचना चालु आर्थिक वर्षको सुरुवात अर्थात् गत साउन महिना ताका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट र लक्की ग्रुपका अमित मोर मिलेर सामूहिक रूपमा शेयर बजार कज्जा गर्ने गोप्य सहमतिका साथ सुरु भएको थियो। सहमतिअनुसार बैंकिङ्ग प्रणालीमार्फत एउटै खातामा पैसा संकलन गरियो र सोही कोषबाट विभिन्न शयरहरू खरिद गरिए। यही क्रममा दीपक भट्टले कानुनविपरीत हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्स जस्ता सूचीकृत कम्पनीहरूमा सर्वसाधारणको ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको तथ्य राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेको विवरण विश्लेषण गर्दा फेला परेको हो। यस कसुरमा अमित मोर, रोहित गुप्ता, राजबहादुर शाहसहित आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुमेरशमशेर जबरा, शालिनी संघाई, निकोलस पाण्डे र दिगम्बर झा लगायतका थुप्रै हाइ-प्रोफाइल व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै अनुसन्धान सकिएपछि फरार सूचीमा राखेर मुद्दा अगाडि बढाइएको छ।
यस कर्पोरेट घोटालाको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर भएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा प्रवाह भएको व्यापारिक कर्जाको दुरुपयोग गरिएको भेटिएको छ। उद्योग सञ्चालनका लागि ‘वर्किङ क्यापिटल लोन’ का रूपमा जगदम्बा स्टिल्स्ले लिएको बैंक कर्जा सोझै उद्योगको खाताबाट निकालेर जग्गा खरिदको बैना गर्न प्रयोग गरिएको र अस्वाभाविक रूपमा दीपक भट्टको व्यक्तिगत खातामा ४५ करोड रुपैयाँ ट्रान्सफर गरिएको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ।
बैंकिङ्ग कसुर तथा सजाय ऐन विपरितको यस कार्यमा ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ बिगो कायम गर्दै दीपक भट्ट, सुलभ अग्रवाल र शाहिल अग्रवाललाई कैद र जरिवानाको माग गरिएको छ भने शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई यस दुरुपयोगमा अप्रत्यक्ष सहयोग पुर्याएको भन्दै मतियारका रूपमा सजाय गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ।





About Us
प्रतिक्रिया