काठमाडौं – गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरुको वित्तीय विवरणमा उल्लेखनीय सुधार भएको छ। असार मसान्तसम्म निराश देखिएका बैंकहरुले पनि साउनको १५ सम्म रिकभरीलाई जोड दिएर कर्जा असुल गर्दा बैंकहरुको वित्तीय विवरणमा सुधार देखिएको हो। बैंकहरुले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा वित्तीय विवरणमा उल्लेख्य सुधार गरेका हुन्।
खराब कर्जा असुली गर्न नसकेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई राहत दिन नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै असार मसान्त सकिएको १५ दिनभित्र उठेको ब्याजलाई पनि अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले नयाँ व्यवस्था गरेसँगै बैंकहरुले आफ्नो लेखा नीतिबमोजिम पाकेको ब्याज आम्दानीमध्ये साउन १५ गतेसम्म प्राप्त भएको रकमलाई सोही गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमा देखाएका हुन्।
साउन १५ सम्म उठेको ब्याज आम्दानीबाट प्रचलित कानुनअनुसार लाग्ने आयकर, कर्मचारी बोनस र वैधानिक कोषहरू (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा राख्नुपर्ने रकम कट्टा गरी बाँकी रहेको रकम नियमनकारी कोषमा जम्मा गरेर सञ्चित मुनाफा समायोजन गर्न सकिने व्यवस्था भएसँगै बैंकहरुको वित्तीय विवरणमा सुधार देखिएको हो।
यसले बैंकहरूको वितरणयोग्य नाफा बढाउन र समग्र वित्तीय विवरणलाई बलियो देखाउन ठुलो मद्दत पुगेको बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणबाट प्रस्ट भएको छ। राष्ट्र बैंकले बैंकहरुलाई प्रायजसो आर्थिक वर्षको अन्त्यतिर सहज नीति लिँदै आएको छ । जसले गर्दा बैंकहको वित्तीय विवरणमा सुधार आएको हो।
कुन बैंकको नाफा कति ?
बैंकहरुले गत आर्थिक वर्षमा नाफामा सुधार गरेका छन्। बैंकहरुको खुद ब्याज आम्दानीमा सुधार हुन नसक्दा पनि कर्जा नोक्सानी व्यवस्थाका कारण बैंकहरुको नाफामा सुधार देखिएको हो। गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ६९ अर्ब ८८ करोड नाफा आर्जन गरेका हुन्। जबकि बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ८१ करोड नाफा आर्जन गरेका थिए।
बैंकहरुको ब्याज आम्दानी भने घटेको छ। गत वर्ष बैंकहरुले ४७ अर्ब ८५ करोड ब्याज आम्दानी गरेका हुन्। जबकि बैंकहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५४ अर्ब ९० करोड ब्याज आम्दानी गरेका थिए। गत आर्थिक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको हो।
यता, नाफामा बढी सुधार गर्नेमा कुमारी बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा ७ अर्ब ३८ करोड खुद नाफा आर्जन गरेको हो। यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड, एभरेष्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ६ करोड नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ।
यस्तै, नेपाल बैंकले ४ अर्ब ५० करोड, प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड, एनएमबि बैंकले ४ अर्ब १ करोड, सानिमा बैंकले ३ अर्ब ५५ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब १३ करोड नाफा आर्जन गरेको छ। साथै, स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब ८५ करोड, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले २ अर्ब ७४ करोड, कृषि विकास बैंकले २ अर्ब ६३ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड, सिटिजन्स बैंकले २ अर्ब ९ करोड, नेपाल एसबीआई बैंकले २ अर्ब ४ करोड हिमालयन बैंकले १ अर्ब ४८ करोड नाफा आर्जन गरेको छ।
एनआइसी एशिया बैंकले १८ करोड नाफा आर्जन गरेको छ। अधिकांश बैंकको नाफामा सुधार आउँदा प्रभु बैंक भने २४ करोड घाटामा छ। प्रभु बैंकले अघिल्लो आर्थिक वर्षमा भने ८७ करोड नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षमा बैंकहरुको नाफा बढ्नुको मुख्य कारण भने कर्जा असुलीमा आएको सुधार, नियामकीय सहुलियत तथा बैंकहरूले वित्तीय विवरण सुधारका लागि गरेको प्रयास नै हो। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल असार मसान्तमा अन्य त्रैमासको तुलनामा वित्तीय सूचकमा सुधार आउने बताउँछन्। उनले असार मसान्तमा ऋणीहरुमा पनि कर्जाको साँवा ब्याज तिर्नुपर्छ भन्ने हुँदा र बैंकले पनि रिकभरीलाई नै जोड दिँदा बैंकहरुको नाफामा सुधार आएको बताए।
एक वर्षमा कुमारी, नेपाल र स्ट्यान्डर्डले गरे प्रोभिजनमा ‘राइट ब्याक’
गत आर्थिक वर्षमा ३ वटा बैंकहरुले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) राइट ब्याक गरेका छन्। कुमारी बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रोभिजन राइट ब्याक गरेका हुन्। प्रोभिजन राइट ब्याक गर्दा पनि कुमारीले नाफामा छलाङ मारेको हो। प्रोभिजन राइट ब्याक भनेको बैंक वा वित्तीय संस्थाले सम्भावित नोक्सानीका लागि पहिले छुट्याएर राखेका हुन्छन्। जोखिममा परेको वा खराब ऋण उठेपछि कर्जाको जोखिम पनि स्वत कम हुन्छ। त्यसपछि त्यस जगेडा रकम फिर्ता भएर बैंकको खुद मुनाफामा जोडिन्छ। जसकारण, यी तिन वटै बैंकको नाफामा सुधार आएको हो।
बैंकहरूको नाफा बढ्नुको प्रमुख कारण प्रोभिजनिङ रकम घट्नु हो । समग्र कर्जा नोक्सानी व्यवस्था घटेको छ। कुमारी बैंकले सबैभन्दा धेरै १ अर्ब ४४ करोड प्रोभिजन फिर्ता गरेको छ भने नेपाल बैंकले १ अर्ब १ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ करोड प्रोभिजन फिर्ता गरेका छन्। कर्जा लगानी जोखिममा पर्ने भएपछि बैंकहरुले प्रोभिजनका लागि रकम छुट्याउँछन्। ऋणीहरूले समयमै सावाँ र ब्याज बुझाउन सकेका छैनन्। यही कारण गत आर्थिक वर्षमा ७ वटा बैंकको प्रोभिजन बढाएका छन्। गत वर्ष सबैभन्दा धेरै प्रोभिजन गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा रहेको छ। बैंकले गत वर्षमा ६ अर्ब १९ करोड प्रोभिजन गरेको छ।
नियामकीय सहुलियतले बढ्यो वितरणयोग्य मुनाफा
नेपाल राष्ट्र बैंकले दिएको नियामकीय सुविधाले अधिकांश बैंकहरुको वित्तीय सूचक सुधार भएको बैंकरहरुको भनाई छ। राष्ट्र बैंकले १५ दिनको ग्रेस अवधि थप्दा वितरण्योग्य नाफामा सुधार आएको उनीहरूको भनाई छ। गत आर्थिक वर्षमा ४ बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ भने १६ वटाको वितरणयोग्य मुनाफा धनात्मक छ। गत वर्षमा एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ।
नाफा सुधार हुँदा बैंकहरुको वितरणयोग्य मुनाफामा पनि सुधार आएको हो बैंकहरुले रिकभरीमा जोड दिँदा बैंकहरुको वित्तीय विवरणमा सुधार आएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनिल शर्मा बताउँछन्। उनले रिकभरी बढ्दा र पौभिजन घट्दा बैंकहरुको नाफामा सुधार आएको हो। प्रोभिजन सुधार हुँदा स्वतः रूपमा वितरणयोग्य मुनाफामा सुधार आउने उनको भनाई छ।







About Us
प्रतिक्रिया