करदाता उपहार कार्यक्रम: बिल प्रविष्टिको अन्तिम दिन आज


काठमाडौं – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि बिल प्रविष्टिको अन्तिम दिन आज रहेको छ।

२०८३ असोज १ गतेदेखि १५ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज बिहीबारसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रम मा गई खरिद बिलको विवरण प्रविष्ट गरेर उपहार कुपन लिन सक्नेछन्।

विभागका अनुसार असोज १६ गते उपहार कुपन खोल्दै विजेता घोषणा गरिनेछ। कार्यक्रममा सहभागी हुन खरिद बिल अनिवार्य भएकाले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन आग्रह गरिएको छ।

त्यस्तै, व्यवसायीलाई पनि वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न आन्तरिक राजस्व विभागले अनुरोध गरेको छ।