‘ब्याजदरमा भएको १५ प्रतिशतको क्याप नहट्ने हो भने लघुवित्त संस्था नटिक्ने अवस्था पुग्छन्’

‘ब्याजदरमा भएको १५ प्रतिशतको क्याप नहट्ने हो भने लघुवित्त संस्था नटिक्ने अवस्था पुग्छन्’


काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले गत वैशाख २ गते लघुवित्त सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्यो। विभागले सार्वजनिक गरेको प्रतिवेदनले लघुवित्त संस्थाहरुमा निष्क्रिय कर्जा बढ्दै जाँदा संस्थाहरूको नाफा घटेको उल्लेख गरेको छ । हामीले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेसँग लघुवित्त संस्थाको नाफामा गिरावट आउनुको कारण के हो ? लघुवित्त संस्थाहरु राष्ट्र बैंकमा पठाउनुपर्ने वित्तीय विवरण पठाउन किन आनाकानी गर्छन् ? लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनै चालिसेसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंश :

हाल धेरै लघुवित्तको नाफा घटेको छ । तपाईको विचारमा लघुवित्त संस्थाको नाफामा गिरावट आउनुको कारण के होला ?

यसमा सबैभन्दा समस्या के देखिन्छ भने नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लागि लगाएको क्याप नै हो । अहिले समग्रमा लघुवित्त क्षेत्र हेर्ने हो भने १६.२५ प्रतिशत बेसरेट छ । सम्पूर्ण लघुवित्तहरुको कष्ट १५ प्रतिशत भन्दा बढि छ भने हामीले लिने भनेको १५ प्रतिशत छ । मुख्य समस्या भनेको कष्ट परेको भन्दा बढिमा लगानी गर्न नपाउनु हो । त्यस्तै अर्को कुरा विगत २ वर्षदेखि देशमा छाएको आर्थिक मन्दी हो । लघुवित्त विरुद्ध आन्दोलन जुन छ त्यसले पनि कर्जा र ब्याज दुवैमा नराम्रो प्रभाव पारेको छ । विश्वमै हेर्ने हो भने पनि ब्याजदरमा क्याप कहिँ कतै पनि छैन ।

तपाईको माग यो १५ प्रतिशतको क्याप हट्नुपर्छ भन्ने हो ?

राष्ट्र बैंकले बनाएको समितीले दिएको सुझावमा पनि १५ प्रतिशतको क्याप उपयुक्त हुँदैन भनेको छ । अहिलेको हिसाबका बेसरेटमा ४ प्रतिशत जोडेर पनि १८ प्रतिशत पुग्छ त्यो सम्भव छैन । त्यस्तो हुँदा सरकारले कुनै सोर्सबाट लघुवित्त संस्थालाई फण्ड उपलब्ध गराउनुप¥यो । अर्को सरकारले बजेटमा पनि ल्याएको तर कार्यन्वयन नभएको लघुवित्त कोष त्यसको काम अघि बढाउनु प¥यो । त्यस्तो भयो भने लघुवित्तका सदस्यलाई र संस्थाहरुलाई पनि राहत मिल्न जान्छ । त्यसो भएन भने हामीले आफै नाफा कमाएर सस्टेन गर्नुपर्ने हुन्छ । त्यो भएन भने हामी पनि नटिक्ने अवस्था हुनसक्छ र हाम्रा ग्राहक (सदस्य)ले पाउने सुविधा पनि नपाउन सक्छन् । अहिले समाधान गर्ने हो भने बेसरेट कन्सेप्टमा जानुप¥यो र बढि स्प्रेड रेट हुँन्छ भने त्यसलाई व्यवस्थापन गर्नुपर्छ ।

हाल लघुवित्त क्षेत्रमा भएको आक्रमणको कुरा गर्दा केही समयअघि तपाईले नेतृत्व गरेको संस्थाका कर्मचारी माथि कालोमोसो नै दलियो । यस्ता गतिविधीलाई आत्माआलोचना सहित हेर्नुहुन्छ की अराजक गतिविधि मात्रै मान्नु हुन्छ ?

यसमा दुइवटा तरिकाले हेर्नुपर्छ भन्ने मलाई लाग्छ । एक पक्षको मात्रै दोष त पक्कै पनि छैन । मान्छे किन आन्दोलनमा गयो त्यो हामीले बुझ्नुपर्छ । लघुवित्त क्षेत्रमा सबैभन्दा पहिले हाम्रो संस्थाका कर्मचारीमाथि कालोमोसो दलिएको हो । हाम्रो कर्मचारीमाथि कालोमोसो दलिनु राम्रो होइन । तर किन यो घटना भयो भन्दा केही राजनीतिक कुराहरु भयो । हामीले आत्मआलोचना पनि गरेका छौं । किन हाम्रो कर्मचारी माथि यस्तो भयो भनेर अध्ययन गर्दा ज्ञानको कमी, मिडियाबाजी लगायतका कुराहरु देखियो जुन अराजक पनि हो । हामीले पैसा क्षमता विकासका लागि दिने हो । तर अहिले त हामी पैसा फिर्ता माग्न जाँदा विभिन्न किसिमका धम्कीहरु आइरहेको छ र पनि हामी फिल्डमा गइरहेका छौं । कतिपय ठाउँमा हामी लघुवित्तकर्मीहरु पनि सच्चिन आवश्यक भने रहेको छ । संस्थागतरुपमा गल्ति हुँदैन तर हाम्रा कर्मचारीहरुले केही गल्ति गरेको हुन्सक्छन् तर लघुवित्तमा भएका यी गतिविधी भने अराजकता नै हो ।

राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले संस्थाहरुले राष्ट्र बैंकमा पठाउनुपर्ने वित्तीय विवरण पठाउन पनि आनाकानी गर्ने गरेको उल्लेख गरेको छ । किन विवरण पठाउन गाह्रो मान्छन् ?

हम्रो संस्थाबाट त्यस्ता वित्तीय विवरण रोकिएको छैन । लघुवित्त संस्था राष्ट्र बैंकबाट रेगुलेटर भएको संस्थाहरु हो । महिना सकिएपछि १५ दिनभित्र पठाउनुपर्ने नियम हुँन्छ । कहिँ कतै छुट भएको कारण त्यस्तो कुरा आएको हुनसक्छ । तर नपठाउँने भन्ने हुँदैन र छैन पनि ।

तर राष्ट्र बैंकले त लघुवित्त संस्थाले नियम विपरित सेवा शुल्क उठाउँदै आएको पनि उल्लेख गरेको छ नि ?

राष्ट्र बैंकले वार्षिक प्रतिवेदन स्वीकृत गर्ने क्रममा अघिल्लो वर्ष पनि सेवाशुल्क फिर्ता गरेको देखिन्छ । त्यहाँ स्पष्टताको कमी देखिन्छ । राष्ट्र बैंकले सेवा शुल्क फिर्ता गराएको छ तर राष्ट्र बैंकको निर्देशन नै स्पष्ट छैन । नेपाल राष्ट्र बैंकले नयाँ कर्जा प्रवाह गर्दा १.५ प्रतिशत, संस्थासँग कारोबार गरिरहेको सदस्यलाई कर्जा प्रवाह गर्दा ०.३० प्रतिशत र कर्जा लिएर चुक्ता गरिसकेपछि फेरि पहिलेको जति ऋण दिँदा कुनैपनि सेवाशुल्क लिन पाउने छैन भनेको छ । यहि अनुसार हामीले चार्ज गरिरहेका छौं । बिचमा धेरै अस्पष्ट भएका कारण सदस्यहरुबाट धेरै सेवाशुल्क लिने प्रवृत्ति थियो तर अहिले त्यो धेरै कम भइसकेको छ ।

लघुवित्त संस्था भनेको त स्वनियमनमा पनि बस्नुपर्ने हुन्छ तर कतिपय संस्थाले त अनिवार्य मौज्दात अनुपात पनि कायम गरेका छैनन् यसलाई कसरी लिने त ?

लघुवित्त ग्रामीण मोडलमा बंगलादेशका डा. मोहम्मद युनिसले सुरु गर्दा नै स्वनियमनमा नियमन हुने भन्ने बुझाइ हो । नेपाल राष्ट्र बैंकले एथोक भनेको हुँन्छ तर लघुवित्त संस्थाले अर्कै बुझ्छन् । नेपालमा एन्जियो बेसमा आएका संस्था, सब्सिडाइरिको हिसाबमा सुरु भएको संस्था र लघुवित्त मोडलमा नै सुरु भएको गरेर ३ किसिमका संस्थाहरु छन् । यिनीहरु सबैको आआफ्नै धारणा छ । आफै स्वनियमनमा बस्नुपर्छ ।

लघुवित्तलाई ग्रामीण विकास बैंक तथा विकास बैंकको रूपमा अपग्रेड गर्नुपर्छ भन्ने कुरा आइरहेका छन् तपाइलाई के लाग्छ ?

यसमा कुन मोडल अपनाउने भन्ने मै स्पष्ट छैन । लघुवित्तमा मोडलको कुरा गर्ने बितिकै ग्रामीण मोडलको कुरा आउँछ । बंगलादेशमा पनि ग्रामीण मोडल परिमार्जन भइसकेको अवस्था छ । नेपालमा ग्रामीण मोडल २५ वर्ष भयो । अब यसमा केही परिवर्तनहरु ल्याउनु समयानुकुल आवश्यकता पनि हो ।

तपाईको विचारमा अब राष्ट्र बैंकले लघुवित्त क्षेत्रको लागि के गर्नुपर्ला ?

अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंकले १५ प्रतिशतको ब्याजदर क्यापलाई हटाउन पहल गर्नुपर्छ । एक संस्था एक सदस्य भन्ने जुन सर्कुलर छ । तर हालसम्म त सदस्यहरु बहु संस्थामा बसेका छन् । उनीहरुलाई केही निकासको व्यवस्था गर्नुपर्छ । लघुवित्त संस्थाको कर्जाको सिमितता नबढाई ३ वटा संस्थाको सदस्य बन्न पाउँने व्यवस्था गर्नुपर्छ । त्यस्तै राष्ट्र बैंकले अध्ययन समितीले दिएको सुझावलाई क्रमशः लागू गर्दै लैजानुपर्ने छ ।