काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को राजनीतिमा अध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष प्रबल जंग पाण्डे आमुन्ने सामुन्ने भएका छन्। यही वैशाखको २२ गते सम्पन्न महासंघको निर्वाचनमा एउटै समूहमा रहेका श्रेष्ठ र पाण्डे आमुन्ने सामुन्ने भएका हुन्।
अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष पाण्डे महासंघ राजनीतिमा लामो समय एउटै समूहमा रहे। श्रेष्ठलाई वरिष्ठमा जिताउनदेखि अन्य धेरै ठाउँमा एउटै समूहमा रहेको पाण्डे समूह यतिबेला फुटेको हो। महासंघ राजनीतिमा पाण्डे समूहलाई बलियो समूह मानिन्छ। यही समूहको साथ पाउँदा श्रेष्ठलाई अध्यक्षसम्मको यात्रामा सहज भएको थियो।
तर, यतिबेला भने महासंघको वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्ने विवाद चुलिएपछि समूहमा फुटको संकेत देखिएको हो। श्रेष्ठ सुरकृष्ण वैद्यलाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहन्छन् भने पाण्डे रामचन्द्र संघई वा भरतराज आचार्यलाई बनाउन चाहन्छन्। यस्तै, कोषाध्यक्षमा श्रेष्ठले मनिषलाल प्रधानलाई रोज्दा पाण्डे समूह अम्बिका प्रसाद पौडेलको पक्षमा छ।
यसवर्ष महासंघको विधान परिवर्तन गर्दै वरिष्ठ उपाध्यक्ष कार्यसमितिले चुन्ने व्यवस्था गरिएको छ। विगतमा यो परिपाटी कोषाध्यक्षमा थियो। यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान थियो। यही प्रावधानअनुसार भवाणी राणा, शेखर गोल्छा, चन्द्र प्रसाद ढकाल र वर्तमान अध्यक्ष श्रेष्ठ महासंघको नेतृत्वमा पुगिसकेका छन्।
आगामी कार्यकालदेखि भने महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ। वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको महत्त्वपूर्ण भूमिका रहने भएकाले पनि विगतमा एउटै समूहमा रहेका श्रेष्ठ र पाण्डे दुई वटा समूहमा विभाजन भएका हुन्।






About Us
प्रतिक्रिया