काठमाडौं – हिमालयन बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा एक मात्र बैंक हिमालयनलाई कारबाही गरेको हो ।
बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण/पुनरसंरचना गरेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको हो ।
पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हो । यता, बैंकले केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै कारबाही गरेको हो ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएको भन्दै राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम यस बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेबापत हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा समेत गराएको छ ।






About Us
प्रतिक्रिया