काठमाडौं – नेपाल राष्ट्र बैंकले १० ठुला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यूको आधारमा आएका सुझाव कार्यान्वयन गर्ने भएको छ। केन्द्रीय बैंकले परामर्शदाताबाट प्रत्येक बैंकको छुट्टाछुट्टै र एकीकृत प्रतिवेदन प्राप्त भई प्रतिवेदनमा उल्लिखित सुझावहरू कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक एनआइसी एशिया बैंक, एनएमबि बैंक र प्रभु बैंकको पोर्टफोलियो मूल्याङ्कन गरेको थियो।
जसमा परामर्शदाताबाट प्राप्त निष्कर्ष अनुसार २०८१ चैत मसान्तको वित्तीय विवरणको आधारमा लोन पोर्टफोलियो रिभ्यूको लागि छनौट भएका १० ठुला वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ७.६ प्रतिशत र औसत पुँजी पर्याप्तता अनुपात ११।३० प्रतिशत कायम हुन आएको छ। प्राप्त प्रतिवेदनमा औँल्याइएका नीतिगत सुधार सम्बन्धी सुझावहरू क्रमशः कार्यान्वयन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई थप सबलीकरण गर्दै लैजाने, पहिचान भएका जोखिम न्यूनीकरण गर्दै वित्तीय स्थायित्व कायम गर्न आवश्यक कार्यहरू अगाडि बढाउने केन्द्रीय बैंकले जनाएको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट इसीएफ प्राप्त गर्दा तय गरिएको स्ट्रक्चरल बेन्चमार्क र बैंक सुपरिवेक्षण विभागको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्य योजना अनुरुप स्वतन्त्र पक्षबाट वाणिज्य बैंकहरूको कर्जा लगानीको गुणात्मक तथा परिमाणात्मक पक्षको मूल्याङ्गनका लागि लोन पोर्टफोलियो रिभ्यू गर्न राष्ट्र बैंक र परामर्शदाता हवलदार युनिसबीच करार सम्झौता भई कुल कर्जाका आधारमा १० ठुला बैंकहरूको लोन पोर्टफोलियो रिभ्यू सम्बन्धी कार्य सम्पन्न भएको छ।






About Us
प्रतिक्रिया