सेबोन अध्यक्षमा पुँजी बजारको ‘एक्सपर्ट’ लाई प्राथमिकता, सर्टलिस्टमा परेकाहरु को हुन् ?

शुक्रबार नै सिफारिस गर्ने समितिको तयारी


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिस समितिले ४ जनाको नाम सार्वजनिक गरेको छ। बोर्ड अध्यक्ष सिफारिस समितिले बोर्डकै कार्यकारी निर्देशक सहित पूर्व कार्यकारी निर्देशकलाई सर्टलिस्टमा पारेको छ।

यस्तै, बोर्डको अध्यक्षका लागि आवेदन दिएका नेपाल राष्ट्र बैंकका दुई पूर्व कार्यकारी निर्देशकहरु पनि सर्टलिस्टमा परेका छन्। समितिले पुँजी बजारलाई नियालेको र बुझेको आधारमा सर्टलिस्टमा राखेको हो। सर्टलिस्टमा परेकाहरु सबैले पुँजी बजारमा छोटो समय भएपनि अनुभव संगालेका छन्।

समितिले बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्यलाई सर्टलिस्टमा समावेश गरेको छ। उनले एमबिए गरेका छन्। यस्तै, बोर्डका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी पनि सर्टलिस्टमा परेका छन्। बैशाखमा मात्रै २०५६ असोज ३ गते धितोपत्र बोर्डमा अधिकृतका रूपमा प्रवेश गरेका अधिकारी ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका थिए। उनले धितोपत्र बोर्डमा करिब ३ दशक बिताएका छन् । उक्त अवधिमा उनले सचिव, प्रवक्ता तथा कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका छन् । उनी २०७९ जेठ २६ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

यस्तै, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र मुकुन्द कुमार क्षेत्री सर्टलिस्टमा समेटिएका छन्। भट्टले मर्चेन्ट बैंकहरुसँगै नेपाल एसबीआई बैंकको सञ्चालकको रुपमा समेत काम गरिसकेका छन्। नेपालका विभिन्न विश्वविद्यालय र कलेजहरूमा वित्तीय व्यवस्थापन, लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण र पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर र एक्विजिशन, कर्पोरेट पुनर्संरचना आदि विषयमा आंशिक रुपमा प्राध्यापन समेत गराउँदै आएका छन्।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश लिनुअघि डा. भट्टले नेपाल राष्ट्र बैंकमा विभिन्न भूमिकामा तीन दशकको अनुभव हाँसिल गरेका छन्। राष्ट्र बैंकमा डा. भट्टले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभाग आदि विभिन्न विभागहरूकाे जिम्मेवारी सम्हालेका थिए। डा. भट्टले व्यापार प्रशासनशास्त्रमा स्नातकोत्तर उपाधी हाशिल गरी त्रिभुवन विश्वविद्यालयबाट नेपालमा धितोपत्र बजार प्रभावकारिता विषयमा विद्यावारिधि उपाधी समेत हासिल गरेका छन्।

यस्तै, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक क्षेत्रीले बोर्डको सञ्चालक समिति अध्यक्षको रुपमा समेत काम गरिसकेका छन्। उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालकको रुपमा एक वर्ष लामो अनुभव संगालेका छन्। शुक्रबार नै सिफारिस गर्ने समितिको तयारी रहेको छ। शुक्रबार नै समितिले मन्त्रीपरिषद्मा सिफारिस गरेपछि त्यसपछिको मन्त्रीपरिषद्ले ४ जनामध्येबाट एक जनालाई अध्यक्ष नियुक्ती गर्नेछ।