काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्ममा बैंकहरूले ४९ अर्ब बढी खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था खुकुलो बनाएको र ब्याज आम्दानीमा समेत सुधार आउँदा बैंकहरूको नाफामा सुधार देखिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड २० लाख बढी खुद नाफा आर्जन गरेका हुन्। यो नाफा गत वर्षको तुलनामा बढी हो। गत वर्षको चैतसम्ममा बैंकहरूले ४१ अर्ब २५ करोड ९ लाख खुद नाफा आर्जन गरेका थिए। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ वटा बैंकको नाफा बढ्दा ७ वटा बैंकको नाफामा भने गिरावट आएको छ।
चैतसम्ममा सबैभन्दा नाफा बढाउने बैंकमा कुमारी बैंक छ। गत वर्षको चैतमा बैंकले २८ करोड ५८ लाख २३ हजार मात्रै नाफा कमाएको बैंकले नाफा अत्यधिक बढाएर ४ अर्ब १७ करोड ८० लाख ४८ हजार आर्जन गरेको छ। यस्तै, चैतसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा भने नबिल बैंक रहेको छ। नबिलले झण्डै ७ अर्ब नाफा कमाएको हो।
६ अर्ब ७६ करोड ४६ लाख नाफा कमाएको हो।लामो समयदेखि बढ्दो खराब कर्जा, उच्च ब्याजदर र कर्जाको माग सुस्ताएका कारण दबाबमा परेको बैंकिङ्ग क्षेत्र अहिले भने क्रमशः सन्तुलनतर्फ फर्किँदै गएको संकेत समेत बढ्दो नाफाले देखाएको छ। बैंकहरूले गर्नुपर्नै लोन लस प्रोभिजन घट्दा पनि नाफामा सुधार आएको यस क्षेत्रका विज्ञ बताउँछन्। राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले खराब कर्जाका लागि अनिवार्य रूपमा प्रोभिजन (सम्भावित नोक्सानी व्यवस्था) गर्नुपर्ने व्यवस्था छ। बैंकहरूले गर्ने सो प्रोभिजन कम हुनेबित्तिकै नाफामा सुधार आउने उनीहरूको भनाइ छ।
नियामकीय सहजीकरणले बढ्यो नाफा
नेपाल राष्ट्र बैंकले बैंक र बैंकका ऋणीलाई सहुलियत प्रदान गरेका कारण पनि बैंकहरूको नाफामा सुधार आएको हो। जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित व्यवसाय तथा ऋणी संस्थासँग ‘ब्याकवार्ड लिकेज’ भएका ऋणीलाई समेत निश्चित सर्तको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र/वा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकको सोही व्यवस्थाका कारण बैंकको नाफामा समेत सुधार आएको देखिन्छ।
यता, हिजो मात्रै पनि राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि मौद्रिक नीतिमा उल्लेख गरिएअनुसार अतिरिक्त नियमनहरू खुकुलो बनाउँदै अन्तर्राष्ट्रिय असल अभ्यास अनुरूप सरल नियमन र सुदृढ सुपरिवेक्षणमा जोड दिएको बताएका छन्। उनले लगानीको वातावरण सुधार गर्दै पुँजीलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्नतर्फ ध्यान दिँदै आएको बताए। यसका लागि बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा सीमालाई घटाइएको छ भने दायरा विस्तार गरिएको बताएका छन्।
राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मापदण्डलाई थप सहज बनाएको छ।संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अन्तर खारेज गरेको छ भने लगानी बढाउन मार्जिन प्रकृतिका कर्जाको सीमा हटाउँदा पनि बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ। नेपाल राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा बैंकहरूको नाफामा आएको सुधारलाई अर्थतन्त्र समान्य गतिमा रहेको बुझ्न सकिने बताउँछन्। उनले बैंकहरूले कर्जा नोक्सानी व्यवस्थामा मिलाएरभन्दा पनि रिकभरी गरेर बढाएको नाफा बैंकहरूका लागी दीर्घकालीन रहने भन्दै असुलीमा जोड दिनुपर्ने बताए।

कुन बैंकको नाफा कति ?
सबैभन्दा बढी नाफा आर्जन गरेको बैंक नबिलले ६ अर्ब ७६ करोड ४६ लाख नाफा आर्जन गरेको छ। यसैगरी, बढी नाफा कमाउनेहरूको सूचीको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ४ अर्ब ४० करोड ११ लाख नाफा आर्जन गरेको छ। तेस्रोमा कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख नाफा आर्जन गरेको छ।
त्यस्तै, चैत मसान्तसम्ममा एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख नाफा आर्जन गरेका छन्। चैतसम्ममा प्राइम कमर्सियल बैंकले नाफा ३ अर्ब ८ करोड, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, एनएमबि बैंकले २ अर्ब ६८ करोड, सानिमा बैंकले २ अर्ब ३५ करोड नाफा कमाएका छन्। यसैगरी, स्टान्र्डड चार्टड बैंकले २ अर्ब ८ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३ करोड, सिद्धार्थ बैंकले २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र नेपाल एसबीआई बैंककले १ अर्ब ४६ करोड नाफा कमाएका हुन्।
त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ३९ करोड, सटिजन्स बैंकले १ अर्ब ३० करोड, प्रभु बैंकले ८५ करोड हिमालयन बैंकले ७६ करोड २५ लाख र एनआईसी एशिया बैंकले १४ करोड नाफा कमाएको छ। बैंकहरूले विविध दवावका बिच पनि नाफा बढाएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनपछि व्यवसायीको मनोवल खस्किएको समयमा पनि बैंकहरूले नाफा आर्जन गरेका हुन्।
ब्याज आम्दानीले उचाल्यो नाफा
बैंकहरूले ब्याज आम्दानी बढ्दा नाफा आर्जन गर्न सफल भएका छन्। बैंकहरूको आम्दानीको मुख्य स्रोत नै ब्याज आम्दानी हो। तर, पछिल्लो चरण बैंकहरूबाट हुने कर्जा प्रवाह बढ्न नसक्दा र माग समेत नबढ्दा बैंकहरूको ब्याजदर लगातार रुपमा ओरालो लागेको छ। बैंकहरूको ब्याजदर लगातार रुपमा घट्दा बैंकहरूमा त्यसको प्रत्यक्ष प्रभाव समेत परेको छ। विगत केही समयदेखि घटिरहेको बैंकहरूको ब्याज आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा भने बढेको छ।
बैंकहरूको ब्याज गत वर्षको चैत मसान्तसम्मको तुलनामा बढेको हो। चैत मसान्तसम्ममा २० वाणिज्य बैंकहरूले १ खर्ब ४२ अर्ब खुद ब्याज आम्दानी गरेका छन्। जबकि बैंकहरूले गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ३९ अर्ब ब्याज आम्दानी गरेका थिए। चालु आर्थिक वर्षमा १३ वटा बैंकको ब्याज आम्दानीमा सुधार आउँदा ७ वटा बैंकको ब्याज आम्दानी घटेको छ।

चैतसम्ममा सबैभन्दा बढी ब्याज आम्दानी गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले १२ अर्ब ४५ करोड ९४ लाख ब्याज आम्दानी गरेको छ। अहिले कर्जा मागमा सुस्ती र ब्याजदरमा गिरावट आउँदा पनि केही बैंकहरूले कर्जा व्यवस्थापन र लगानी विस्तारमार्फत ब्याज आम्दानी बढाउन सफल भएका छन्।



About Us
प्रतिक्रिया