बैंकिङ्ग प्रणालीमा ४ अर्ब मात्र तरलता, १५ दिनमै अन्तर बैंक ब्याजदर ४ % ले बढ्यो तरलता टाइट भए के हुन्छ ?

बैंकिङ्ग प्रणालीमा ४ अर्ब मात्र तरलता, १५ दिनमै अन्तर बैंक ब्याजदर ४ % ले बढ्यो तरलता टाइट भए के हुन्छ ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुको आपसी अन्तर बैंक ब्याजदर दुई सातामै करिब ४ प्रतिशतले बढेको छ । बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम (तरलता) को उच्च उतारचढाब हुँदा अन्तर बैंक बयाजदरमा असर परेको हो ।

गत साउन १२ गतेसम्म बैंकिङ्ग प्रणालीमा ६३ अर्ब ७७ करोड रुपैयाँ तरलता मौज्दात थियो । जुन १५ दिनमै ५९ अर्ब १२ करोड रुपैयाँले घटेर ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रणालीमा तरलता संकुचन हुँदै गएपछि बैंकहरुले आपसी सापटी कारोबार बढाउँदा अन्तर बैंक ब्याजदर समेत सो अवधिमा ३.९० प्रतिशत बिन्दुले बढेको हो । गत साउन १२ गते बैंकहरुले ०.११ प्रतिशत ब्याजदरमा अन्तर बैंक सापटी कारोबार गरेको थिए । जसको १५ दिन पछि अर्थात् साउन २६ गते अन्तर बैंक कारोबार बढेसँगै ब्याजदर समेत ४.०१ प्रतिशत पुगेको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुको स्रोत संकलन घट्दा तरतलामा चाप परेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए । बैंकहरुले अनिवार्य नगद मौज्दात (सीआरआर) मा व्यवस्थापन गर्न समस्या हुँदा अन्तर बैक कारोबार बैंकहरुले बढाएका उनको भनाइ छ ।

‘बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत सीआरआरमा राख्नु पर्छ, राष्ट्र बैंकमा राखनु पर्ने सीआरआर नपुग्दा बैंकहरुले अन्तर बैंक सापटी लिएका हुन्,’ प्रवक्ता ढकालले  भने, ‘दिनभरी आउने डिपोजिटभन्दा निकाल्ने रकम बढी हुनेबित्तिकै बैंकले एक अर्कासँग सापटी लिएर जम्मा गर्नु पर्ने ठाँउमा गर्छन् ।’

अनुमानित भन्दा बढी कारोबार भएपछि बैंकहरुलाई सीआरआरमा राख्नु पर्ने पैसा राख्न आपसी सापटी कारोबार बढाएसँगै ब्याजदर पनि बढेको उनको भनाइ छ । राष्ट्र बैंकले रिपोमार्फत् बैंकहरुबाट लिएको २० अर्ब रुपैयाँ बुधबार परिपक्क भएको हुँदा बैंकहरुमा बिहिबारदेखि केही तरलता सहज हुने उनले जानकारी दिए ।

तरलता टाइट भए के हुन्छ ?

मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चा पदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ ।

बैंकमा तरलता अभाव हुँदा कर्जा प्रवाहमा संकुचन आउँछ । उद्योग व्यवसायहरुले कर्जा नपाएपछि विकासका काम अघि बढ्न सक्दैन र अन्ततः समग्र अर्थतन्त्र नै प्रभावित बन्न पुग्छ ।

तरलता अभावका कारण निक्षेपको व्याज अस्वभावित रुपले बढ्न जान्छ । निक्षेप तान्ने होडबाजीमा बैंकहरुले सीमा नै नाघेर व्याजदर तोक्न थाल्छन् । निक्षेपमा दिने व्याजको खर्च उठाउन उता कर्जाको पनि व्याजदर बढ्न थाल्छ र ऋणीहरु प्रभावित हुन थाल्दछन् । यस्तो अवस्थामा उद्यमीहरु निरुत्साहित बन्न पुग्दछन् भने बैंकहरुलाई कर्जा असुलीमा समेत समस्या पर्न सक्छ ।