अमेरिकी उपविदेशमन्त्री रोजर्सले भनिन्: नेपाल–अमेरिका सम्बन्ध हिमालजस्तै बलियो


काठमाडौं – संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीति सम्बन्धी उप-विदेशमन्त्री सारा बी. रोजर्स दक्षिण तथा मध्य एसिया भ्रमणअन्तर्गत भारतको भ्रमण सम्पन्न गरी काठमाडौं आइपुगेकी छन्। उनी संयुक्त राज्य अमेरिका–नेपाल दूतावासले आयोजना गरेको ‘असेन्ट समिट’मा सहभागी हुन नेपाल आएकी हुन्।

आज काठमाडौंमा आयोजित उक्त कार्यक्रममा बोल्दै उप-विदेशमन्त्री रोजर्सले नेपाल र अमेरिकाबीच पर्वतारोहण, पर्यटन र नवप्रवर्तनमा आधारित साझेदारी थप बलियो बन्दै गएको बताइन्। उनले हिमालयले दुई देशलाई विशेष रूपमा जोडेको उल्लेख गर्दै साहस, अन्वेषण र सहकार्यले सम्बन्धलाई अझ गहिरो बनाएको धारणा राखिन्।

कार्यक्रममा हिमाली क्षेत्रका विभिन्न व्यक्तित्व, पर्वतारोही, सांसद तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो।सन् २०२५ मा १ लाख १२ हजार अमेरिकी पर्यटक नेपाल आएको उल्लेख गर्दै उनले अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्यारएको बताइन्।रोजर्सले अमेरिका आगामी दिनमा पनि नवप्रवर्तन, प्रविधि र उद्यमशीलताको क्षेत्रमा नेपालको विश्वासिलो साझेदार रहने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै, गत चैत १४ गते सरकार गठनयता नेपाल भ्रमण गर्ने उनी तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी