काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेकाे बजेटको स्वागत गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको स्वागत गरेको हो।
बैंकिङ्ग क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था, बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै आएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गरेको परिसङ्घको ठहर छ। विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, ‘डिजिटल’ अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि एवं पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड दिएकाले बजेटले लगानीमैत्री वातावरण सृजना गरेको विज्ञप्तिमा उल्लेख छ।
‘आगामी आवको बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकका रूपमा आत्मसात् गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ’, परिसङ्घले भनेको छ। व्यक्तिगत आयकरमा छुटको सीमामा वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चापदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाहरूले समग्र आर्थिक गतिविधिहरूमा सकारात्मक ऊर्जा सञ्चार गर्ने परिसङ्घले विश्वास गरेको छ।






About Us
प्रतिक्रिया