९ महिनामा ३८ हजार महिलालाई सहुलियत कर्जा, सुविधा उपभोग गर्न महिलालाई व्यवसाय नामसारी गर्ने बढे

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे ३८ हजार महिलाले सस्तो ब्याजदरको कर्जा पाएका छन् । गत असारदेखि चैतसम्ममा महिलाले ब्याज अनुदानको उक्त कर्जा पाएका हुन् । गत असारसम्म ६ हजार ६ सय ८२ जनाले ब्याज अनुदानको सहुलियत कर्जा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।

गत चैतसम्म यस्तो कर्जा लिने महिलाको संख्या बढेर ४५ हजार १ सय २८ जना पुगेको छ । उल्लिखित तथ्यांकले चालु आर्थिक वर्षको ९ महिना (असारदेखि चैतसम्म) थप ३८ हजार ४ सय ४६ जनाले यो कर्जा लिएको बुझाउँछ । ब्याज अनुदानमा पाइने यो कर्जा उद्यमी महिलाले पाउने ऋण हो । यसकारण उक्त कर्जा लिने महिलाको संख्या बढ्नुले महिला उद्यमीको संख्या बढेको देखाउँछ । तर वास्तविक रूपमा महिला उद्यमी बढेको नभई प्राप्त सुविधा उपयोग गर्न महिलाका नाममा व्यवसाय नामसारी गरी कर्जा लिने बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘कार्यविधिले तोकेका कागजात पुर्‍याएर आएपछि कर्जा दिनु नै पर्‍यो,’ उनले भने, ‘यो संख्याले महिला उद्यमी बढेको देखाउँछ । तर वास्तवमा उनीहरूका नाममा व्यवसाय नामसारी बढेको हो ।’

कृषिबाहेकका सहुलियत कर्जामा निश्चित संख्यामा कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन भएकाले पनि बैंक तथा वित्तीय संस्थालाई ताकेता परेको ती अधिकारीको भनाइ छ । ‘अरूको तुलनामा महिला उद्यमशीलता कर्जामा माग धेरै छ,’ उनले भने, ‘कर्जा सही ठाउँमा उपयोग भएको छ/छैन भन्ने सम्बन्धमा नियामक निकायले सोधखोज गर्नुपर्ने देखिन्छ ।’ वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भने मापदण्ड पुगेका आवेदकले मात्र कर्जा पाउने भएकाले कर्जाको दुरुपयोग नभएको दाबी गरेको छ ।

गत चैतसम्म ब्याज अनुदानको सहुलियत कर्जा लिने महिला संख्या सो अवधिसम्म कृषि कर्जा लिनेको भन्दा धेरै हो । जब कि ब्याज अनुदानको कृषि कर्जा २०७३ देखि नै सुरु भएको हो । गत चैतसम्म यो शीर्षकमा ४२ हजार ४ सय ४७ जनाले कृषि कर्जा लिएका छन् । कृषिबाहेक ब्याज अनुदानका नौ प्रकारका कर्जा लिने ऋणीमध्ये करिब ९५ प्रतिशतले महिला उद्यमशीलता कर्जा लिएका छन् । गत चैतसम्म कुल ८९ हजार ८ सय ७९ जनाले सहुलियत ब्याजदरको कर्जा लिएका छन् । 

तीमध्ये ४७ हजार ४ सय ३२ जनाले कृषिबाहेकका कर्जा लिएका छन् । यसअनुसार ४५ हजार १ सय २८ जनाले महिला उद्यमी र २ हजार ३ सय ४ जनाले बाँकी ८ प्रकारका कर्जा पाएका छन् । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण पछिल्ला महिनामा महिलाको आकर्षण उल्लेख्य बढेको बैंकरहरू बताउँछन् । यो कर्जा लिन महिलाका नाममा उद्योग व्यवसाय सञ्चालन भएको हुनुपर्छ । यस्तो कर्जामा महिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन् । उदाहरणका लागि कुनै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदर तय गरे ६ प्रतिशत ब्याजदर सरकारबाट अनुदान पाइन्छ । बाँकी ४ प्रतिशत मात्र महिला उद्यमीले तिर्नुपर्छ । यो शीर्षकअन्तर्गत महिलाले बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाउँछन् ।

राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । यसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पुरानै हो । व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम २०७३ मै आएको हो । पछि यो कर्जालाई पनि सरकारले सहुलियत ब्याजदरको कार्यविधिअनुसार समेटेर एकीकृत कार्यक्रम बनाएको हो । सहुलियत दरको कर्जामा बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम (ब्याजदर) थप गर्न पाउँछन् ।

२०७८ असारसम्म वाणिज्य बैंकले न्यूनतम पाँच सय, विकास बैंकले न्यूनतम दुई सय र वित्त कम्पनीले एक सय वटा कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । चालु आर्थिक वर्षको बजेटमा पनि वाणिज्य बैंकका हरेक शाखाले १० र विकास बैंकको शाखाले पाँच वटा सहुलियत दरका कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था घोषणा भयो । सोही व्यवस्थालाई समेटेर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कम्तीमा पाँच सय वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रियस्तरका विकास बैंकले कम्तीमा तीन वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ, सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको हो ।

कान्तिपुर दैनिकमा खबर छ ।