नबिल बैंकले चीनको चाइना एभरब्राइट बैंक र चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपविरुद्धको मुद्दा जितेर १ अर्ब रुपैयाँभन्दा बढी नेपाल ल्याएको छ। चिनियाँ निर्माण कम्पनी सुइफाले त्रिशूली थ्रीबी जलविद्युत आयोजना बनाउनका लागि ठेक्का जितेपछि सम्झौताअनुसारको निर्माण कार्य गर्न नसकेर छाडेको थियो। सो आयोजना निर्माणमा ठेक्का लगाउनुअघि नेपाल विद्युत् प्राधिकरणसँग नबिल बैंकले ७.४५ मिलियन अमेरिकी डलरको ‘काउन्टर ग्यारेन्टी’ राखेको थियो। यसका लागि नबिल बैंकलाई चिनियाँ बैंक एभरब्राइट काउन्टर ग्यारेन्टी बसेको थियो। तर, निर्माणको काम रोकेर चिनियाँ कम्पनी भागेपछि प्राधिकरणले नबिल बैंकसँग काउन्टर ग्यारेन्टीबापतको लिएपछि चिनियाँ पक्षले सोबापतको रकम भुक्तानी गर्न आनाकानी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दा लडेर नबिले चीनबाट १ अर्ब रुपैयाँभन्दा बढी रकम नेपाल ल्याएको छ। यही विषयमा केन्द्रित रहेर नबिल बैंकका डेपुटी कार्यकारी निर्देशक (डिसिईओ) आदर्श बजगाईँसँग बैंकिङ्ग बहसमा गरिएको कुराकानीको सम्पादित अंश:–
तपाईँहरूले हालसालै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नुभयो। जसमा ७ अर्ब ९० करोड खुद नाफा देखिन्छ। यसलाई देशको अर्थतन्त्रले गति लियो भनेर व्याख्या गर्न मिल्छ ?
अघिल्ला वर्षहरूमा राखिएका प्रोभिजनहरु धेरै थियो। अर्थतन्त्र सुस्त भएसँगै त्यसरी प्रोभिजनमा राखिएको थियो। तर, त्यसलाई रिकभर गर्नेगरी गतिविधि भइरहेका छन्। तर, अहिले नै पूर्णरुपमा चलायमान भएको भनेर भन्न सक्ने स्थिति छैन। वित्तीय विवरण हेर्दा ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेको छ। खुद नाफा पनि अघिल्लो वर्षकोभन्दा बढेको छ।

यसलाई कसरी लिन सकिन्छ ?
ती विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय झट्काबाट अर्थतन्त्र बाहिर निस्कँदै छ भन्न मिल्छ। बजारले ती विभिन्न समस्यालाई सहँदै अघि बढ्न थालेको छ। भूकम्प र कोरोनाभन्दा पछाडि यतिबेला बजारका सबैजसो सूचकहरू उत्कृष्ट अवस्थामा छन्। तर, व्यवसायीक समुदाय नयाँ सरकारसँगै पर्ख र हेरको अवस्थामा छन्। यद्यपि, उनीहरूमा ‘कन्फिडेन्स’ अभाव छ।
व्यवसायीको आत्मबलको कुरा उठिहाल्यो। अहिले केही ठुला व्यवसायीक घरानाले समेत ऋण तिर्न नसकेको भन्ने खालका समाचारहरू बाहिरिन थालेका छन्। बजारमा आत्मविश्वास नआउनुको कारण के होलान्?
नीतिगत स्थिरता र राजनीतिक स्थिरता नै मुख्य हुन्। यतिबेला देशले राजनीतिक अस्थिरताबाट छुट पाएर स्थिरतातर्फ अघि बढेको छ। बजारमा नकारात्मक किसिमका समाचारहरू आउने र व्यवसायीको सुरक्षाको विषय उठिरहेको छ। अन्य क्षेत्र पनि त्रासमा हुँदा ‘कन्फिडेन्स’ नआएको हुन सक्छ। तर, प्रधानमन्त्री र अर्थमन्त्रीज्यूले निरन्तररुपमा व्यवसायीहरुसँग भेटेर कुरा सुनिरहनुभएको छ। उहाँहरूको भेटघाट बजारलाई कसरी सुधार गर्न सकिन्छ र कसरी लगानी विस्तार गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित देखिन्छ।

तपाईँहरूको नाफा चीनमा तपाईँहरूले जित्नुभएको अर्ब रुपैयाँभन्दा बढीको मुद्दाका कारण पनि बढेको हो? त्यसबेला तपाईँहरूले त्रिसुली थ्रीबीमा ‘काउन्टर ग्यारेन्टी’बापत नेपाल विद्युत प्राधिकरणलाई तिरेको रकम चीनको निर्माण कम्पनीसँग जितेर ल्याउनुभयो नि।
नाफा बढ्नुको एउटा कारण यो पनि हो। तर, यति मात्रै हैन। किनकी, चीनमा चिनियाँ निर्माण कम्पनी सुईफासँग १ अर्ब रुपैयाँभन्दा बढीको मुद्दा जितेको हो। त्यसबाट ‘प्रोभिजन’मा राखेको रकमबाट ‘रिकभर’ गर्दा कर र कर्मचारी खर्च कटाउँदा ६३ करोड रुपैयाँ आएको थियो। ८ अर्ब खुद नाफामा ६३ करोडकै कारण उथलपुथल भएको भन्न मिल्दैन। यद्यपि योगदान छ।
यसका लागि चीनमा पुगेर मुद्दा लड्यौँ। ‘फाइनान्सियल कोर्ट’मा पनि जित्यौँ र उनीहरूले हालेको पुनरावेदनमा पनि जित्यौँ। जसको रकम आइसकेको छ। नाफा बढ्नुमा योसहित ‘एनपीए रिकभरी’मा नबिल बैंकको टिमको खटाई र मेहनतले काम गरेको छ। यसका लागि सबै उच्च तहका व्यक्तिसहित देशभरका शाखालाई सक्रिय बनायौँ। समस्या परेका ग्राहकसँग ‘सिनियर लेभल’मा पनि कुरा गयौं। र ऋणीहरुलाई सहजीकरण गयौं। जसकारण, रिकभरी एकदमै राम्रो भयो। फलस्वरुपः नबिल बैंकको एनपीए पनि घटेको छ।
चीनमा तपाईँहरूले जितेको मुद्दाको कुरा गरौँ न। यसको ब्याक ग्राउन्ड कसरी विकास भयो? तपाईँहरूले मुद्दा कसरी हाल्नुपर्यो?
नेपाल विद्युत् प्राधिकरणले गरेको ठेक्का ‘बिड’मा चिनियाँ कम्पनी त्रिशूली थ्रीबी बनाउन आएको थियो। तर, लक्ष्यअनुसार र सम्झौताअनुसार उसले काम अघि नबढाएपछि यो समस्या आएको हो। उनीहरूले सुरुमा नै ‘लो बिडिङ’ गरेका रहेछन्। उनीहरूलाई रुस–युक्रेन युद्धपछि ‘कमोडिटि’को मूल्य बढ्दा झनै समस्या परेछ। समस्यामा परेपछि चिनियाँ कम्पनी सुईफा भागेर चीन गयो।
प्राधिकरणसँग यो विषयमा कुराकानी पनि भयो। उहाँहरूले ‘काउन्टर ग्यारेन्टी’बापतको रकम माग दाबी गर्ने र ठेकेदार कम्पनीसँग काम गर्न नसक्ने भनेर भन्नुभयो। त्यसपछि, हामीले चिनियाँ दूतावासमा पुगेर निर्माण कम्पनीलाई सहजीकरण गरिदिन र काम सक्ने गरी वातावरण बनाइदिन भन्यौँ। तर, नभएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र म चीन गयौँ। त्यसपछि, निर्माण कम्पनी र चीनबाट काउन्टर ग्यारेन्टी बसेको चाइना एभरब्राइट बैंकसँग बैठक गर्यौँ।
चाइना एभरब्राइट बैंक बसेको काउन्टर ग्यारेन्टि ‘अनकन्डिसनल’ थियो। उहाँहरुले हामिलाई विनाशर्त काउन्टर ग्यारेन्टिबापतको रकम दिनुपथ्र्यो र उहाँहरु तयार पनि हुनुहुन्थ्यो। तर, निर्माण कम्पनी सुईफाले चीनको ‘फाइनान्सियल कोर्ट’मा मुद्धा हाल्यो र ‘स्टे अर्डर’ ल्यायो। त्यसपछि चाइना एभरब्राइट हामिलाई सुरुमा नै पैसा दिन तयार हुँदाहुँदै पनि मुद्धा लड्न पर्ने भयो। र, त्यो मुद्धा निर्माण कम्पनीसँगको थियो, चिनियाँ बैंकसँग होइन।
चिनियाँ अदालतमा मुद्धा परेपछि नबिल बैंक चीन गयो र मुद्धा लड्यो। तर, यसमा त्रिशुली थ्रीबीले आफूहरु चिनियाँ न्यायलय मान्न नपर्ने भनेर मुद्धामा सामेल हुनुपरेन। त्यसक्रममा सुरुदेखि नै नेपालका बैंकका लागि मुद्धा लडिरहेका चिनियाँ वकिललाई मुद्धा लड्ने जिम्मेवारी दिइयो र लड्नुभयो। यसक्रममा हामिले चीनमा ‘फाइनान्सियल कोर्ट’ भनेर छट्टै न्यायलय बनाइएको रहेछ। यो उत्कृष्ट लाग्यो।

यसमा तपाईँहरूले चिनियाँ वकिललाई नै मुद्दा लड्न जिम्मेवारी दिनुभयो। नेपाली वकिललाई नमिल्ने भएर हो, जिम्मेवारी नदिनु भएको?
चीनको अदालतमा पुगेर नेपाली वकिलले मुद्दा लड्न मिल्दैन। त्यसका लागि लाइसेन्स चाहिन्छ। भाषा चिनियाँ हुन्छ। कानुन चिनियाँ हुन्छ। त्यसैले चीनमा लडिने मुद्दा चिनियाँ वकिल विना सम्भव छैन। तर, यता नेपालतर्फको नबिल बैंकको टिम पूर्णरुपमा लागिपरेको थियो।
यो मुद्दाका क्रममा तपाईँहरू चीन आउजाउ गरिरहन पर्यो? कति पटक जानुभयो ?
धेरै पटक आवतजावत गरियो। यस क्रममा ४ पटक चीन गइयो। यो जितसँगै नेपालका बैंकहरु मुद्दा मामिला गर्न माहिर छन् र आफ्ना न्यायका लागि लड्न तयार छन् भन्ने देखायो। यसअघि पनि ग्लोबल आईएमई बैंक, एनआईएमबी, हिमालयन बैंक लगायतले पनि विदेशी भूमिमा मुद्दा लडेर जितेका थिए।







About Us
प्रतिक्रिया