ठगी मुद्दाका फरार प्रतिवादी नितु ठाकुर धापाखेलबाट पक्राउ


काठमाडौं – ठगीसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भई फरार रहेकी नितु ठाकुरलाई प्रहरीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ।उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी भएको थियो। उनको ठगीसम्बन्धी मुद्दामा १५ लाख ७० हजार रुपैयाँ बिगो रहेको प्रहरीले जनाएको छ।

ठाकुरविरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा समेत पक्राउ पुर्जी जारी भएको पाइएको छ। उनको जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएका तीनवटा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा क्रमशः २१ लाख ९० हजार, १८ लाख ५० हजार र एक लाख ६० हजार रुपैयाँ गरी कुल ४२ लाख रुपैयाँ बिगो रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै, प्रहरी वृत्त नयाँ बानेश्वरमा पनि उनको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा २६ लाख र पाँच लाख ५० हजार रुपैयाँ गरी कुल ३१ लाख ५० हजार रुपैयाँ बिगो तोकिएको मुद्दा रहेको प्रहरीले बताएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।