अब १५ प्रतिशतभन्दा बढी शेयर बेच्दा पाँच दिनअघि जानकारी दिनुपर्ने


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ। बोर्डको नियमन विभागले सम्पूर्ण सूचीकृत कम्पनीलाई सम्बोधन गर्दै जारी गरेको पत्रअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।

धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) बमोजिम बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। बोर्डले यसअघि आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको थियो।

निर्देशन नं. १ बमोजिम धितोपत्र बिक्री गर्ने आशयले सूचीकृत कम्पनी मार्फत सूचना प्रबाह गरेका शेयरधनीले आफूले बिक्री गर्न चाहेको शेयर बिक्री नगरेको वा पूर्णरूपमा विक्री नगरिसकेको अवस्थामा पूनः सोही कम्पनीको शेयर खरिद गर्ने भएमा कारोबार सम्पन्न भए पश्चात यथाशिघ्र सो सम्बन्धी विवरण उल्लेख गरी सूचीकृत कम्पनीमा जानकारी गराउनुपर्नेछ र सूचीकृत कम्पनीले प्राप्त धितोपत्र खरिद सम्बन्धी जानकारी यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने बोर्डले जनाएको छ।